प्रहरी महानिरिक्षकको दौडमा शैलेश थापा क्षत्री र हरिबहादुर पाल, को बन्लान संगठन प्रमुख !

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, १२ : ०५
प्रहरी महानिरिक्षकको दौडमा शैलेश थापा क्षत्री र हरिबहादुर पाल, को बन्लान संगठन प्रमुख !

काठमाडौं । प्रहरी महानिरिक्षक (आईजीपी) ठाकुर ज्ञवालीको कार्यकाल अबको १ हप्ता पछि सकिनै लाग्दा अबको आईजीपी को भन्ने प्रहरी संगठन भित्र कौतुहलता पैदा भएको छ ।  महानिरिक्षक ज्ञवाली आउदा असार २४ पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकास पाउदैं छन् । उनको अवकास पाउने दिन नजिकिदैं गर्दा प्रहरी संगठन भित्रै अबको आईजीपी को होला भन्ने चर्चा शुरु भएकोछ ।

पहिलेको जस्तो आईजीपीको लागि शक्तिकेन्द्र धाउने खेल यसपटक  भएको छैन् ।  प्रहरी संगठन भित्र अतिरिक्त महानिरिक्षक तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाल रहेका छन् । र यिनीहरुमध्ये लम्साल पनि महानिरिक्षक ज्ञवालीसंगै अवकास पाउने भएपछि दुइ जना अतिरिक्त महानिरिक्षकहरु  थापा र पाल नै प्रहरी संगठन प्रमुखको दौडमा रहेका छन् । अब यि दुई जना मध्ये २८ औं आइजिपीको पद हत्याउनेछन ।

प्रहरी संगठनमा चार वर्ष यता प्रहरी नायव महानिरीक्षकबाट एकै पटक आईजीपीमा बढुवा गरिँदै आएकोमा अब एआईजीबाट आईजीपीमा बढुवा हुने अवसर प्राप्त भएको हो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवालीले एआइजीको अनुभव हासिल गर्न पाएनन् । आईजीपीसँगै एआईजी पदसमेत रिक्त हुँदा यी तीनै जनाले डिआईजीबाट एआईजी नभइ एकैपटक आइजीपी हुने अवसर पाएका थिए ।

विगतका दिनमा शक्ति केन्द्र्रको आशिर्वाद पाएका प्रहरी अधिकृतले संगठनको कमाण्ड पाउँथे । राजनीतिक पहुँच नभएकै कारण विभिन्न कारण देखाई संगठन प्रमुखको अवसरबाट वञ्चित तुल्याइएपछि वरिष्ठता र क्षमता भएका काविल प्रहरी अधिकृतहरुले राजीनामा समेत दिनुपरेको उदाहरण छ ।  प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षकमा एआईजीबाट वा एआईजी नभएको अवस्थामा डीआईजीबाट बढुवा गर्न सकिने उल्लेख छ । आईजीपी पद रिक्त रहँदा संगठनको दोस्रो दर्जामा दुई वरिष्ठ अधिकृत कायम छन् । त्यसैले एआईजीद्वय क्षत्री र पालमध्ये एक जनाले प्रहरी संगठनको नेतृत्व सम्हाल्न पाउनेछन् ।

नयाँ आईजीपीबारे यतिबेला न चलखेल छ, न त हल्लीखल्ली नै । विगतमा जस्तो एक अर्काप्रति हिलो छ्याप्ने प्रवृत्ति पनि यसपाली देखिएको छैन । न त वर्तमान आईजीपी ज्ञवाली नै आफ्नो पदावधि लम्ब्याउने चलखेलमा लागेका छन् । थापा र पालमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।

संगठन भित्र  पाल र थापाको अवस्था  !
२८ औं आइजिपीका प्रतिस्पर्धी एआइजीद्वय थापा र पाल दुवै नेपाल प्रहरीमा व्यावसायिक तथा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन्। पालसँग नेपाल प्रहरी सेवाको अधिकांश समय फिल्डमा खटिएर चुनौतीपूर्ण काम गरेको अनुभव छ। उनले रूपन्देही, धनुषा कास्की, डडेलधुरा, नुवाकोटलगायत जिल्ला प्रहरी कार्यालयको कमाण्ड कुशलतापूर्वक निर्वाह गरेका छन्।  सुरक्षा दृष्टिकोणले सबैभन्दा बढी चुनौतीपूर्ण जिम्मेवारी मानिने प्रदेश २ प्रहरी प्रमुख रहँदा अपराध,चोरी तस्करी तथा गुण्डागर्दी नियन्त्रणमा सफल भएसँगै पाललाई सरकारले विषेश ब्युरो प्रमुखको जिम्मेवारी दिएको थियो।

आतंकवाद तथा प्रतिआतंकवादविरुद्ध विशेष रणनीति तथा कारवाही गर्ने प्रहरीको विशेष ब्युरोमा कुशलतापूर्वक नेतृत्व र जिम्मेवार सम्हालेसँगै पाललाई प्रहरीको भावी नेतृत्वको रूपमा हेरिएको छ। पालले नेतृत्व सम्हालेसँगै विशेष ब्युरोले विप्लव समूहमाथि गोप्य निगरानी बढाएको थियो। पछिल्लो १ वर्षमा विप्लव समूहका झन्डै १५ सय बढी नेता कार्यकर्ता पक्राउ परेका छन्।  एनसेल टावरमा तथा व्यापारी र पूर्वकर्मचारीको घरमा श्रृङखलाबद्ध विस्फोट गराएर काठमाडौं उपत्यका नै असुरक्षित बनेका बेला पाल विशेष ब्युरोमा आएका थिए। साथै उनले विप्लव समूहमाथि अपरेसन नै गरेका थिए।  ब्युरोले ठूलो संख्यामा विप्लव समूहका हातहतियार  र विस्फोटक पदार्थ नियन्त्रणमा लिएको थियो। एआइजी पालले अपराध अनुसन्धान विभाग र कार्य विभागको नेतृत्व सम्हालिरहेका छन्। प्रहरीमा निडर,आक्रमक तथा अवस्थाअनुसार तत्काल सुरक्षा रणनीति बनाउन सक्ने दक्खल राख्छन् ।

पाल कडा मिजास, प्रहरी अधिकारीका रूपमा चिनिन्छन्। उनलाई सुदूरपश्चिमको बढी पक्षधर भएर काम गर्ने क्षेत्रीय मानसिकता राखेर सबैमाथि न्याय गर्न नसक्ने आरोप पनि लाग्दै आएको छ। उनी पुलिसिङमा अब्बल मानिए पनि कतिपयले बुद्धिभन्दा बलले काम गर्ने अधिकारीका रुपमा पनि चित्रित गर्ने गर्छन् । त्यस्तै आइजिपीका अर्का प्रतिस्पर्धी थापा प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारी मानिन्छन्। प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान९एकेडेमी० मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा हेरिन्छन्।

 नीतिगत निर्णय गर्न रुचाउने थापा शिष्ठ शालिन प्रहरी अधिकारीको पहिचान बनाएका व्यक्तित्व हुन्। एआइजी बढुवा हुनुपूर्व थापा महानगरीय प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत थिए। एआइजी बढुवामा एक नम्बर रहेका थापासँग फिल्डमा कम काम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर क्षमता नभएको जस्ता आरोप लाग्ने गरेका छन्। उनी डिएसपीदेखि एआइजीसम्म नै एक नम्बरमा रहँदै आएका छन्। यद्यपि यसअघि नवराज सिलवाल उत्तिकै अब्बल भए पनि उनलाई पर सारेर दुई नम्बरमा रहेका प्रकाश अर्याललाई आइजिपी बनाइएको नजिर स्थापित भैसकेको छ।

हाल मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थापामाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ।प्रहरीको पछिल्लो बढुवामा रोलक्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्केसँगै आइजिपी ज्ञवाली र थापामाथि संगठनमा न्याय गर्न नसकेको पनि केहीको आरोप छ।  थापा र पाल  दुवै २०७६ फागुन १५ गते क्रमशः  दोस्रो र तेस्रो नम्बरमा एआइजी बढुवा भएका थिए। 

प्रतिक्रिया दिनुहोस