नेपाल भित्रिएको सलहले ठूलो क्षति गर्दैन

पत्रपत्रिकाबाट

सोमबार, १५ असार २०७७, ०७ : ५४
नेपाल भित्रिएको सलहले ठूलो क्षति गर्दैन

काठमाडौं । अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन ।

तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाल्पा र रुपन्देहीको सैनामैनास्थित मकैमा केही क्षति गरेबाहेक अरू खासै क्षति गरेको छैन । मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले भने, ‘‘नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो ।

अब पनि क्षति गर्ने सम्भावना छैन ।’’ भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफैँ हराएर जाने उनले बताए । विज्ञहरूका अनुसार पहेँलो रङको सलह धेरै दिनसम्म बाँच्न सक्दैन ।

वयस्क सलह चारदेखि पाँच हप्तासम्म बाँच्छन् र नेपाल भित्रिएको सलहमा वयस्क एकदम थोरै रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुममागाईंको भनाइ छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस