किलोको २० रुपैयाँले बिक्ने भयो सलह

पत्रपत्रिकाबाट

आइतबार, १४ असार २०७७, ०७ : ५४
किलोको २० रुपैयाँले बिक्ने भयो सलह

बुटवल । नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार एकाबिहानै बुटवलस्थित नेपाली सेनाको गरुड दलको ब्यारेक वरपर एकैसाथ असङ्ख्य नयाँ कीरा देखिए ।  गणका प्रमुख सेनानी ज्योतिकुमार थापाका अनुसार एकाएक गन्नै नसकिने कीरा देखिएपछि विषादी हालेर मार्न खोजियो । सलह तिनै थिए । 

प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाका अनुसार अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएका कीरा सलह नै भएको पुुष्टि भयो । भारतमा किसानको बाली सखाप पारिरहेको सलह नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ ।  सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो ।

शनिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रण गर्न आवश्यक रणनीति तय गरेको छ । बैठकमा सहभागी प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख देवकोटाका अनुसार शनिबारैदेखि किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरिएको छ ।

त्यस्तै सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताए ।  यस्तै आकस्मिक निर्णय बुुटवल उपमहानगर पालिकाले पनि गरेको छ । प्रमुख शिवराज सुवेदीका अनुसार सलह नियन्त्रणमा प्रोत्साहन गर्न जम्मा गरेर बुझाउनेलाई पुरस्कृत गरिनेछ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस