टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिस खेल्न आतुर

एजेन्सी

मंगलबार, ०२ असार २०७७, १० : ३६
टेनिस स्टार सेरेना विलियम्स युएस ओपन टेनिस खेल्न आतुर

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोकिएको प्रतियोगिताहरु खेल्न खेलाडीहरु आतुर रहेका छन् । विश्व टेनिस स्टार सेरेना विलियम्सका प्रशिक्षक प्याट्रिक मोराटोग्लूले सेरेना यो वर्षको युएस ओपन टेनिस खेल्न अति इच्छुक रहेको बताएका छन् ।

३८ वर्षकी विलियम्स गएको वर्षको युएस ओपनमा फाइनलमा पुगेकी थिइन् । यो वर्षको युएस ओपन टेनिस आउँदो अगस्ट ३१ देखि सुरु हुने तयारी छ । तर कोरोना भाइरसको महामारीका कारण विभिन्न प्रतिबन्धहरु लागु गरिएका छन् ।

प्रशिक्षक प्याट्रिकले सेरेनाबारे भनेका छन्, ‘उनी टेनिसमा फर्किएको पक्कै पनि ग्राण्ड सलाम जित्नका लागि हो । उनको उद्देश्य नै त्यहि हो ।’ उनले अघि भने, ‘कुनै पनि खेलाडीलाई प्रतिस्पर्धाबाट बाहिर रहनु अति कठिन कुरो हो । त्यसैले युएस ओपनमा उनी खेल्न चाहन्छिन्, र यो नै विजयको पहिलो यात्रा पनि हुन सक्छ ।’
पूर्व विश्व नम्बर एक सेरेनाले युएस ओपनको उपाधि ६ पटकसम्म जितेकी छन् । उनी गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा तेस्रो चरणबाट बाहिरिएकी थिइन् ।

उनले यो वर्षको सुरुवात अक्ल्याण्ड ओपनको उपाधि जितेर गरेकी थिइन् । सो उपाधि सन् २०१७ को सेप्टेम्बरमा आमा बनेपछिको उनको पहिलो उपाधि पनि हो । नोभाक जोकोविच, राफायल नाडाल, निक किर्गिओस र सिमोना हालेपसहितका खेलाडीले समर्थक तथा मिडियाको उपस्थिति बिना कडा नियमकाबिच हुने यो वर्षको खेलमा सहभागी हुन कठिन हुने खालको अभिव्यक्ति दिएका बेला सेरेना सहभागी हुने प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया दिनुहोस