कोरोना परिक्षण गर्न ५ हजार ५ सय रुपैया लाग्ने !

निजीले पनि सरकारले परिक्षण गर्न दिएको स्वाव मात्र परिक्षण गर्न पाउने, सरकारले नै परिक्षणको शुल्क तिर्ने

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, १० : १५
कोरोना परिक्षण गर्न ५ हजार ५ सय रुपैया लाग्ने !

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा दिनदिनै बढिरहेको छ । खासगरी विदेशबाट आएका नेपालीहरुमा कोरोनाको संक्रमण देखिदा यो संख्या बढिरहेको हो । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म कोरोनाको संक्रमण ५ हजार ७ सय ६० पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पनि नेपालमा १९ पुगिसकेको छ । यो हिजो आईतबार बेलुकीसम्मको तथ्यांक हो । यसमा आज केही थप संख्या संक्रमितको बढिसकेको छ ।  

८२ दिन देखिको जारी लकडाउन आजै देखि खुकुलो हुदैं जान थालेको र मान्छेहरुको चहलपहल बढेको छ । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै मान्छेहरुको चहलपहल बढेको हो । यस्तो बेला परिक्षणको दायरालाई ब्यापकता बनाउन सरकारलाई सरोकारवालाहरुले आग्रह गरिरहेका छन् ।  अहिलेसम्म सरकारले प्रर्याप्त मात्रामा कोरोनाको परिक्षण गर्न नसकेको भन्दै सरकारको आलोचना भईरहेको छ ।

आलोचना बढीरहदा सरकारले नीजि क्षेत्रलाई पनि अब कोरोनाको परिक्षण गर्न दिने संस्थागत निर्णय गरेको छ । त्यसका लागि नीजि क्षेत्रका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले तय गरेको निर्धारित मापदण्डमा आधारित रहेर परिक्षण गर्न दिने सम्झौता गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि सरकारले नीजि अस्पताललाई आव्हान गरेको छ । अबको एक दुई दिनमै पर्याप्त सुविधा सहितको प्रयोगशाला भएका नीजि अस्पताललाई सरकारले बनाएको मापदण्डमा आधारित रहेर परिक्षण गर्न दिइदै छ ।  

तर नीजि अस्पतालले सिधै कोरोनाको स्वाब परिक्षण भने गर्न पाउने छैनन् । उनीहरुलाई नेपाल सरकारले नै संकलन गरेका स्वाबहरुलाई मात्रै परिक्षण गर्न दिने र परिक्षण गर्दा लाग्ने शुल्क पनि सरकारले नै तिर्ने गरी तयारी गरेको छ । त्यसो हुदा सरकारले त्यस्ता नीजि अस्पतालहरुलाई एक जनाको स्वाबको परिक्षण गर्दा ५५ सय रुपैया दिने भएको छ ।
त्यो शुल्क सरकार स्यवंले ब्यहोर्ने छ ।  त्यो भन्दा बढी शुल्क सरकारले नीजि अस्पताललाई दिनै छैन । परिक्षण गरेका रिपोर्ट नीजि अस्पतालले सरकारलाई नियमित अपडेट गराउनु पर्नेछ ।

आफुखसी नीजिले कोही कसैका पनि परिक्षण भने गराउन पाउदैनन् । सरकारले आशंकाका आधारमा ट्रेसिङ गरेको आधारमा स्वाव परिक्षण भन्दा तपाई आफु खुसी कोरोनाको परिक्षण गर्न चाहनुभयो भने तीन ओटा सरकारी अस्पतालमा मात्र परिक्षण गराउन पाउने ब्यवस्था सरकारले मिलाएको छ । पाटन अस्पताल, विर अस्पताल र टिचिड अस्पतालमा मात्र आफुखुसी सर्वसाधारणले कोरोना परिक्षण गराउन पाउनेछन् ।

उपत्यका बाहिर गएर फर्केकाहरु, घरबेटीले परिक्षण गरेर मात्र आउन गरेको आग्रह देखि यदि कोही कसैलाई निरोगी रहेको प्रमाणपत्र लिनुपर्ने भयो भने त्यस्ता ब्यक्तिलाई कोरोना परिक्षण आफुखुसी गर्न दिने सरकारले निर्णय लिएको हो । त्यसका लागि सरकारले तोकेकै अस्पतालमा निश्चित शुल्क आफैले तिरेर परिक्षण गराउनु पर्ने हुन्छ । आफु खुसी परिक्षण गर्दा तपाई आफैलै शुल्क तिर्नुपर्ने हुन्छ ।

त्यो शुल्क पनि ५५ सय रुपैया नै तोकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सफलखबरलाई बताए । उनका अनुसार, नीजि अस्पतालले पनि कोरोनाको परिक्षण गर्दा सरकारीले लिने शुल्कमै परिक्षण गर्नुपर्ने हुन्छ । अहिले सरकारले देशभरका २१ ओटा प्रयोगशालाबाट मात्र कोरोनाको परिक्षण गरिरहेको छ । सरकारले थप ३ वटा उपकरण खरिद गरेर प्रयोगशाला थप गर्ने तयारी पनि गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस