गलेश्वर । म्याग्दीमा शुक्रबार थप एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएका मङ्गला गाउँपालिका–३ बरङ्जाका ४९ वर्षीय पुरुषलाई डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।
बिरामीको ट्राभल हिष्ट्री नभएकाले ग्रामीण क्षेत्रमै डेङ्गु फैलिने एडिस जातको लामखुट्टे सक्रिय रहेकाले सचेत हुनुपर्ने सुवेदीको भनाइ छ । योसँगै वैशाख र जेठ महिनामा मङ्गला गाउँपालिकामा चार जनामा डेङ्गु पोजेटिभ देखिएको छ भने जिल्लाभर सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । बेनी अस्पतालमा छिमेकी जलजला गाउँपालिकाबाट समेत उपचारका लागि आएकी एक वृद्धामा डेङ्गु देखिएको थियो । वैशाख ९ गते पहिलो डेङ्गु सङ्क्रमित अर्मनका १७ वर्षीय युवामा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको थियो ।
गत वर्ष म्याग्दीमा १२ मा डेङ्गु र एक जनामा स्क्रब टाइफसका देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग हो । डेङ्गु एक बिरामीबाट अर्को बिरामीमा सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।
म्याग्दी देशरभरमै डेङ्गु सङ्क्रमण फैलिने जिल्लामा रुपन्देही पछि दोस्रोमा छ भने गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो स्थानमा छ । स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणमा डेङ्गु सार्ने लामखुट्टे बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा अत्यधिक भेटिएको थियो ।
कोरोना कोषमा छ लाख
कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा म्याग्दीको मङ्गला गाउँपालिकाका शिक्षकले तीन दिनको पारिश्रमिक रु छ लाखभन्दा बढी सहयोग गरेका छन् । नेपाल शिक्षक महासङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ र एकीकृत नेपाल राष्ट्रिय शिक्षक सङ्घले संयुक्त पहलमा सङ्घीय सरकारको कोरोना कोष र गाउँपालिकाले स्थापना गरेको आपत्कालीन कोरोना कोषमा गाउँपालिकाभित्रका ४० विद्यालयका २०० शिक्षक, ४७ कर्मचारी र ४४ बालविकास सहजकर्ताले रु छ लाख ३० हजार ९४३ हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाको कोषमा दुई दिनको तलब रु चार लाख २० हजार ६२९ र सङ्घीय कोषमा रु दुई लाख १० हजार ३१४ जम्मा गरिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष होमनाथ पाण्डेले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३१ जेठ २०७७, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा १५ दिनमा २० जनामा डेङ्गुको सङ्क्रमण
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च
गण्डकीमा डेङ्गुबाट सात जनाको मृत्यु
बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण
डेङ्गु सङ्क्रमण बढ्यो, कसरी जोगिने ?
गलकोटमा डेङ्गु र स्क्रबटाइफसका ५८ बिरामी