भोलिदेखि मौसममा क्रमिक सुधार

शनिबार, २४ जेठ २०७७, ११ : ४५
भोलिदेखि मौसममा क्रमिक सुधार

काठमाडौँ । भोलि आइतवारदेखि देशभर मौसममा क्रमिक सुधार हुँदै जाने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट बिस्तारै सुधार हुँदै जाने बताइएको छ ।

वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरू हुने गर्दछ । यस वर्ष औसत समयभन्दा १ हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ ।

नेपालमा मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बंगालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब ६ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ । अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहमम्म प्रभाव कायम रहेमा मनसुन शुरू हुने मौसमविद् अर्यालले जानकारी दिए ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा र प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ का १–२ स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतवार देशका धेरै स्थानमा सामान्य बदली रही प्रदेश नम्बर १, वाग्मती, गण्डकी प्रदेशका केही  स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर २ का १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशका धेरैजसो स्थानमा सामान्य बदली रही प्रदेश नम्बर १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको औंल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार शनिवार काठमाडौं उपत्यकामा १२।८ मिलिलिटर वर्षा भएको छ ।

पोखरामा ६.४, दिपायलमा २७.१, नेपालगञ्जमा ३१, सिमारामा ३१.९, जुम्लामा १७.० र धनकुटामा ८.८ मिलिलिटर वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस