छ महिनापछि सञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान

रासस

विहीबार, २२ जेठ २०७७, १२ : ४६
छ महिनापछि सञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान

भरतपुर । छ महिनापछि भरतपुर अस्पतालको सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । मेसिनमा समस्या आएपछि सिटी स्क्यान सेवा अवरुद्ध थियो । मर्मतपश्चात बुधबारदेखि १२८ स्लाइसको सिटी स्क्यान मेसिन पूर्णरूपमा सञ्चालनमा आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।

गएको मङ्सिरदेखि बिग्रिएको मेसिन लामो समयसम्म नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महङ्गो शुल्कमा सिटी स्क्यान गराउन बाध्य भएका थिए । बीमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका थिए भने बीमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा सिफारिस हुने गरेका थिए । मेसिन बिग्रँदा बीमाका बिरामी बढी प्रभावित भएका थिए । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भन्नुभयो, “न्यूरोको शल्यक्रियासमेत हुन सकेको थिएन, एक वर्षका लागि मर्मत गर्ने कम्पनीसँग सम्झौता गरिएको छ ।”

भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम रु तीनदेखि नौ हजारसम्म तिर्नुपर्छ । अन्य निजीमा रु चारदेखि १३ हजारसम्म तिर्नुपर्छ । भरतपुर अस्पतालमा दैनिक औषत १२ देखि १५ जनाले सिटी गराउँदै आएका छन् । विसं २०७४ जेठमा रु छ करोड ४७ लाख रकम खर्चिएर खरिद गरेको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिना पनि नपुग्दै बिग्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस