लकडाउनले साइकल चलाउने बढे

रासस

मंगलबार, २० जेठ २०७७, २० : १६
लकडाउनले साइकल चलाउने बढे

फाईल फोटो

भरतपुर ।  भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्नुहुन्छ । भरतपुर महानगरपालिका–११ का उहाँहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम्दा कहिले काही १ घण्टा ३० मिनेट पनि लाग्ने गर्दछ । अरु साथी पनि थपिने गरेका छन् । 

लकडाउनसँगै शारीरिक तन्दुरुस्तीका लागि व्यायाम गर्न उहाँहरुले साइकल यात्रा गर्न थाल्नुभएको हो । गियर र ब्राण्डेट साइकल चढेर हिँड्नेको सङ्ख्या लकडाउनसँगै बढेको छ । लकडाउनमा घरमा बस्दा मोटोपन बढ्ने र रोगको खतार भएसँगै साइकल यात्रा गर्नेहरुको सङ्ख्या बढेर गएको हो । 

लकडाउनमा साइकल चलाउँदा रोकतोक नहुने र शारीरिक अभ्यास राम्रो हुने भएकाले नियमित साइकल चलाउने बढेका हुन । यससँगै साइकलको व्यापार पनि बढेको छ । बजारमा साधारणको तुलनामा सौखिन खालका साइकल निकै बिक्री हुने गरेका छन् । साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका  निवर्तमान अध्यक्ष धर्मराज सापकोटा जेठ महिनामा मात्र  चितवनमा ९०० हाराहारी साइकल बिकेको बताउनुहुन्छ । 

चितवन र नवलपुर जिल्लामा साना ठूला गरी ५०० हाराहारी साइकल पसल छन् । ती पसलबाट साधारण र विभिन्न ब्राण्डका गियरवाला साइकल बिक्री हुने गरेका छन् । व्यवसायीका अनुसार यहाँको बजारमा रु ६ हजार ५०० देखि दुई लाख ५० हजारसम्मका साइकल बिक्ने गरेका छन् । सापकोटाको भनाइमा सबैभन्दा बढी रु ४० हजार देखि ७० हजारसम्मका साइकल अहिले बिक्री हुने गरेका छन् । सङ्घका अध्यक्ष श्यामप्रसाद खरेल शारीरिक तन्दुरुस्तीका लागि साइकल किन्नेहरु बढेको बताउनुहुन्छ । उहाँका अनुसार कृषक, मजदुर, विद्यार्थी, बालबालिकाले किन्ने साइकल बिक्री भएका छैनन् । 

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी साइकल चलाउनु व्यायाम मध्येको राम्रो हो भन्नुहुन्छ । यसले मानसिक र शारीरिक दुवै तन्दुरुस्त गर्न सहयोग पु¥याउने उहाँको भनाइ छ । स्थानीय सरकारले फराकिला सडकमा साइकल लेन बनाउन शुरु गरेका छन् । भरतपुर महानगरपालिकाले हालै मात्र दुई वटा सडकमा साइकल लेन बनाउँदै छ । 

साइकल आवश्यकतादेखि सोखिनसम्मको चाहना बन्ने गरेको छ । यस जिल्लामा साइकल नजान्नेहरु कम हुने गर्दछन् । बालबालिकादेखि वृद्धवृद्धासम्मले यहाँ साइकल चलाउने गर्दछन् । पहिले पहिले विवाहमा दाइजो साइकल दिने गरिन्थ्यो । त्यो क्रम भने घटेर गएको छ । 

प्रतिक्रिया दिनुहोस