सुरक्षा अधिकारीको निष्कर्ष : सूचना संयन्त्र असफल भयो

मंगलबार, ०५ मंसिर २०७४, ०८ : ३३
सुरक्षा अधिकारीको निष्कर्ष : सूचना संयन्त्र असफल भयो

काठमाण्डौ ।  सुरक्षा संयन्त्र असफल हुँदा चुुनावविरोधी हिंसा बढेको निष्कर्ष सुरक्षा अधिकारीले निकालेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा उच्च सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूले यस्तो निष्कर्ष निकालेका हुन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई दर्जनभन्दा बढी स्थानमा हिंसात्मक आक्रमण गरिसकेको छ । तर, त्यससम्बन्धी सूचना प्रहरीले पाएर पनि रोक्न नसक्नुले सूचना संयन्त्र असफल भएको निष्कर्ष निकालिएको हो ।

सुरक्षा गोष्ठीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका बल प्रयोग गरेर विप्लव नेतृत्वको नेकपालगायत चुनावविरोधी समूहलाई नियन्त्रणमा लिन निर्देशन दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले विप्लव पार्टीका नेताहरूमाथि कारबाही गर्न निर्देशन दिएका थिए । उम्मेदवारहरूको जिउज्यानकै जोखिम भएपछि गृह मन्त्रालयले कठोर नीति बनाएको हो ।

विप्लव नेतृत्वको नेकपाविरुद्ध आक्रामक कारबाही गर्न निर्देशन
प्रधानमन्त्री देउवाको निर्देशनलगत्तै गृहले ७७ जिल्लाकै प्रशासन र प्रहरीलाई विप्लव नेतृत्वको नेकपाका नेता र कार्यकर्तामाथि आक्रामक कारबाही गर्न परिपत्र गरेको छ । सोहीअनुसार सोमबारदेखि नै प्रहरीले सो पार्टीका नेता–कार्यकर्तामाथि खोजी सुरु गरिसकेको छ । विप्लवका कार्यकर्ताले प्रमुख दलका केन्द्रीय नेताहरूलाई लक्षित गरी पटक–पटक आक्रमण गर्दै आएका छन् ।

कारबाही बढाउने वेला आइसक्यो : प्रहरी महानिरीक्षक अर्याल
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले कारबाही बढाउने वेला आइसकेको बताएका थिए । ‘आक्रमण गर्नेहरू मलाई पक्राउ गर भनेर आउँदैनन्,’ उनले भने, ‘प्रहरीले सक्रियता बढाएर शान्तिसुरक्षा बलियो बनाउनुपर्छ ।’ शान्तिसुरक्षा कायम गर्न नसक्नेलाई कारबाही गरिने उनको भनाइ थियो । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले पनि सूचना संयन्त्रलाई चुस्त बनाउन निर्देशन दिएका थिए । गृहले सातैवटा प्रदेशमा सुरक्षा गोष्ठी गरिसकेको छ । सबै क्षेत्रको सुरक्षा ब्रिफिङ र मूल्यांकन भइसकेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए । बैठकमा गुन्डागर्दी र मदिरालाई समेत सुरक्षा चुनौतीका रूपमा औँल्याइएको थियो । रसुवामा शनिबारदेखि नै मदिरा बिक्री वितरण रोक लगाइएको छ ।

कुन-कुन नेतामाथि आक्रमण ?
गत २४ कात्तिकदेखि प्रमुख दलका केन्द्रीय नेतामाथि शृंखलाबद्ध आक्रमण भएका छन् । जसमा कांग्रेस नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, खबबहादुर गर्बुजा, एमाले नेता शेरधन राई, राजेन्द्र गौतम, माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, ओनसरी घर्तीमगरलगायत छन् । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस