भारतमा सलहको सन्त्रास

पत्रपत्रिकाबाट

शुक्रबार, १६ जेठ २०७७, ०७ : ०३
भारतमा सलहको सन्त्रास

नयाँदिल्ली । कोरोना भाइरस (कोभिड–१९) को महामारीले त्रसित बनाइरहेका भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सलह फट्यांग्रा प्रजातिअन्तर्गतको कीरा हो ।

सलहले खाद्यान्न बालीलगायतका कृषि उपजलाई क्षति पुर्‍याउने भएकाले सलहलाई फौजी कीराकै वर्गमा राखिन्छ । विगतका वर्षहरुमा सलहको हुल भारतलगायतका दक्षिण एसियाको भागमा असारको दोस्रो सातातिर आउने गरेकोमा यस वर्ष केही पहिले नै आएको छ । जसले गर्दा कोरोना महामारीका कारण अर्थतन्त्रनै धरासायी हुने हो कि भन्ने चिन्ता व्यक्त भइरहेका बेला सलहको प्रकोपले खाद्यान्न बालीमा क्षति हुन गई संकट थप गहिरिने त्रास बढेको छ ।

भारतमा सामान्यत: गर्मीयाममा पाकिस्तानको सीमा हुँदै पश्चिम राजस्थान र गुजरातमा सलह प्रवेश गर्ने गर्छ । तर, यस वर्ष भने चैतको अन्त्यतिर नै सलह देखिएको थियो । हाल भारतका राजस्थान, गुजरात, महाराष्ट्र, मध्यप्रदेश, पन्जाब, दिल्ली र उत्तरप्रदेशमा सलहले ठूलो मात्रामा बालीनाली नष्ट पारेको छ ।

भारतमा अहिले देखिएको सलह अफ्रिकी मूलको भएको र पछि इरान र पाकिस्तानमा प्रजनन हुँदै गएको बुझिएको छ । सलहको एउटा सामान्य हुल एक वर्गकिमि देखि कैयौं वर्ग किमि क्षेत्रफलसम्म फैलने गर्छ । एक वर्गकिमिमा फैलिएको बथानमा ४ करोडदेखि ८ करोडवटासम्म सलह हुने गरेको अनुमान छ । अझ ठूला हुलमा त त्यो संख्या अरबसम्म पुग्ने गर्छ । भारतीय सञ्चरामाध्यमहरुले विभिन्न अनुसन्धानलाई उद्धृत गर्दै एउटा सलहले हरेक दिन आफ्नो तौलबराबर करिब २ ग्रामबराबर खानेगर्छ । एउटा सानो हुलले हरेक दिन २ हजार ५ सय जनाले खानेबराबरको खाद्यबाली खान सक्छन् । हुल बाँधेर हिँड्ने यो कीराले हजारौं किलोमिटर यात्रा गर्न सक्छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस