चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने

मंगलबार, १३ जेठ २०७७, १४ : ५५
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६ र ७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिए ।

यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ ।  सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।

यसअघि गत आर्थिक वर्ष २०७५ र ७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ र ७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस