काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । जुन गत वर्ष २०२५ को ४.६ प्रतिशतभन्दा न्यून हो ।
एडिबीको आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) मार्फत आगामी वर्षको प्रक्षेपण सार्वजनिक गरिएको हो । नेपालका लागि एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले गत वर्षको नागरिक अशान्ति लगायत राजनीतिक अनिश्चितता एवं मध्यपूर्वमा जारी द्वन्द्वको प्रतिकूलताबीच आर्थिक वर्ष २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहने बताए ।
‘राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढाउनेछ । यद्यपि, खासगरी मध्यपूर्वमा जारी द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रेषण आप्रवाहमा प्रतिकूल जोखिम कायमै देखिन्छ’, उनले भने ।
एडिबीका अनुसार विद्यमान आघातहरू कमजोर भएसँगै आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटन सुदृढ भएर आर्थिक वर्ष २०२७ मा कुल गार्हस्थ्य उत्पादन (जीडिपी) वृद्धिदर मजबुत भई ५ प्रतिशत पुग्ने प्रक्षेपण रहेको छ ।
यद्यपि, यी प्रक्षेपणहरू असामान्य तीव्र अनिश्चयका बीच मध्यपूर्वको द्वन्द्व छिट्टै स्थायित्वतर्फ रूपान्तरित हुने परिदृश्यको परिकल्पनामा मार्च १० (फागुन २६)मा तयार पारिएको हो । त्यसयताका तथ्यहरूले भने निरन्तर अवरोधको उच्च सम्भावना औँल्याएका छन् ।
आर्थिक वर्ष २०२६ मा उपभोक्ता मुद्रास्फीति दर करिब ३.७ प्रतिशत रहने र आन्तरिक आर्थिक गतिविधिहरूमा सुधार एवं छिट्टै स्थायित्वको परिदृश्यमा आगामी आर्थिक वर्ष २०२७ मा थप वृद्धि भई ४.५ प्रतिशत पुग्ने प्रक्षेपण छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, १३ : ४१
लेखकबाट थप