सन्दर्भ : कृष्णसेन स्मृति दिवस

कृष्णसेन इच्छुक मारिएको त्यो पहिलो खबर यसरी छाप्यौं...

मंगलबार, १३ जेठ २०७७, ०८ : ५८
कृष्णसेन इच्छुक मारिएको त्यो पहिलो खबर यसरी छाप्यौं...

किशोर श्रेष्ठ
२०५९ सालको कुरा हो । मंगलबार राती हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो,–कृष्णलाई त मा¥यो नि ! को कृष्ण ? उसले सबै भन्न सकेन् । संकटकालको बेला थियो–सेना प्रहरी सबैले प्रेसलाई सताईराखेको अवस्था थियो । दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको बर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने ब्यक्ति कृष्ण सेन मारिएको ठाँउका प्रत्यक्षदर्शीमध्येकै प्रहरी अफिसर थिए ।

फोन आएपछि हामीले यस विषयमा छलफल ग¥यौं । तर कन्फ्युजन भयो । मारिएका ब्यक्तिको नाम कृष्ण मात्रै भनिएको थियो । जबकी पक्राउ परेका दुई जना थिए । कृष्णध्वज खड्का, अर्का कृष्ण सेन इच्छुक । हामीले यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं । अर्काे हप्ता सोमबार फेरी फोन आयो । स्रोतले भन्यो–तपाईहरु समाचार छाप्न डराउनु भएछ यार । हामीले भन्यौं, किन डराउनु र को कृष्ण भन्ने डिटेलमा भन्नु प¥यो नी ।

उसले भन्यो, त्यो पत्रकार कृष्ण के त । यसपछि भने मारिने ब्यक्ति कृष्ण सेन इच्छुक नै रहेछन भन्ने पक्का भयो । उनलाई जेठ ६ गते प्रहरीले पक्रिएको थियो । त्यो घटना थियो जेठ १३ गतेको । घटना के हो भनेर सोध्दा स्रोतले भन्यो,–बसेर केरकार गर्दागदै ढली गो नि । औषधी नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधी पनि खान नपाएको, अलिअलि गर्दागदै ढल्यो । कृष्ण सेनको हत्या हुँदा त्यहाँ को–को थिए ? यो प्रश्नमा स्रोतले भन्यो, तत्कालिन भ्याली डिआइजी अमरसिंह शाह, डिएसपी विक्रम थापा, ज्याङगो ज्यान गरेका इन्स्पेक्टर कमल खाँड थिए । उनीहरुले कुटेर मारे । अनि लास के गरे त ?

पिकअप गाडीमा हालेर लगे र विष्णुमति तिर सेलाए । पोल्नुभन्दा पहिले इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुईवटा गोली हानेर मुचुल्का बनाए । स्रोतले हामीलाई यस्तो जानकारी दिएपछि हामीले ०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा समाचार लेख्यौं । अलविदा कृष्ण सेन भनेर लेख्यौं । कृष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघमा महासचिव उठ्दाखेरी महेश्वर दाहाल केन्द्रीय सदस्यमा उठेका थिए । हामीबीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन पनिसँगै थिए ।

समाचार लेख्ने बेलामा मैले तत्कालिन भ्याली डिआइजी अमरसिंह शाहलाई पनि सोधे । उनले भाई, लेख्नचाही नलेख्नुहोस, तर अलिअलि तितोमिठो गर्दागर्दै गयो क्या भने । अर्काे हप्ता जनआस्थाले फलोअप स्टोरी गर्ने क्रममा फेरी पूरानो स्रोतलाई सोधे, आखिर सेनलाई कसरी मारियो ? स्रोतले भन्यो, तिनै डिआईजी अमरसिंहले कृष्ण सेनलाई सोधे, ल भन ‘तँ पनि ठकुरी, म पनि ठकुरी, राजा पनि ठकुरी तैले के ठानेको छस् र तैले के गर्न सक्छन् ?’ कृष्ण सेन त्यत्ति बोलिराखेका थिएनन र उनी कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदा हिर्काउँदै मरिहाले ।

सेनको हत्या सम्बन्धी समाचार आए पछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्न श्रीपुरुष ढकालको नेतृत्वमा आयोग पनि बनाएको थियो । हरिहर बस्तीले पोष्टमार्टम गरेको भन्ने त्यसमा रिपोर्ट पनि छ । मंगोलियन अनुहारको, यति उमेरको मान्छे गोर्कणको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने त्यसमा रिपोर्ट छ । आयोगमा हामीलाई पनि बयान लिन बोलाएको थियो । तर हामी गएनौं । कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथी चर्काे प्रहार भयो ।

त्यक्तिबेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । देउवा प्रधानमन्त्री । हिरासतमा भएको मान्छेलाई मारेको भनिसकेपछि उनीहरुलाई सीपीजेबाट चर्काे दबाब आयो । पत्रकार गोपाल वुढाथोकीलाई पनि त्यही बेला सेनाले अपहरण गरेको स्थिती थियो । म भागीभागी हिड्नुपरेको थियो । तात्कालिन प्रधानसेनापति प्रज्वलसम्शेरको समाचार लेख्दा मलाई पक्राउ पनि गरियो । तत्कालिन सेनापतिसँग मेरो झगडै भयो, उनले तँलाई सुट गर्छुसम्म भने । पञ्चायतमा विर्मश साप्ताहिकबाट शासकहरुलाई जस्तो अप्ठयारो थियो, त्यो बेला जनआस्थावाट उनीहरु त्यसैगरी आत्तिएको अवस्था थियो ।

प्रतिक्रिया दिनुहोस