कोरोनासँग हारे ‘हेडसर’, मदानेको शिक्षामा क्षति

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०७७, १४ : ४५
कोरोनासँग हारे ‘हेडसर’, मदानेको शिक्षामा क्षति

रुपन्देही । अन्ततः गुल्मीका हेडसर कोरोनासँग हारेका छन् । उनको रुपन्देहीको तिलात्तमास्थित क्रिमसन अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको हो । गुल्मी जिल्लाको मदाने गाउँपालिका–६ पुरकोटदह घर भएका ४१  वर्षका पुरुष देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । उनै प्रधानाध्यापक कोरोनासँग लड्दालड्दै हारेका छन् । अन्ततः उनलाई कोरोनाले चुँडाएर लगेको छ । 

प्रधानाध्यपकको निधनसँगै मदाने गाउँपालिकाको शिक्षामा ठूलो क्षति पुगेको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्रालयले प्रधानाध्यापकको निधनप्रति गहिरो समवेदना प्रकट गरेको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शोक वक्तव्य निकाल्दै शिक्षा क्षेत्रमा अपुरणीय क्षेति पुगेको जनाएका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

लामो समयदेखि शिक्षण पेशामा आबद्ध रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा जाँच गराएका थिए । अवस्था गम्भीर बन्दै गएपछि रुपन्देहीको क्रिमसन अस्पतालमा आएर उपचार गराइरहेका थिए । उनको निधन सोही अस्पतालमा हुन गयो ।  

स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलवार बुटवलको कोरोना विशेष अस्पताल सार्न सकिएको थिएन । कोरोना पुष्टि भएपछि बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीले क्रिमसन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यहीँ नै उपचार भएको थियो । 

मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले उनलाई कसरी कोरोना संक्रमण भयो भनेर सबै अचम्ममा परेको बताए । ‘उहाँ कहीँ पनि जानुभएको छैन । कसरी संक्रमण भयो अचम्म भएको छ,’ अध्यक्ष केसीले भने, ‘उनको पुनः स्वाब संकलन गरी जाँचको लागि पठाइएको छ । रिपोर्ट आउन भने बाँकी छ । 

हाल मदाने गाउँपालिका शिल गरिएको छ । गाउँका ३० जनाको स्वाब संकलन गरी पीसीआर जाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ ।  उनलाई जाँच गराउँदा जन्डिस र मृगौलाको समस्यासमेत देखिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस