बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी थप तीव्र

मंगलबार, ०६ जेठ २०७७, ०९ : १७
बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी थप तीव्र

बेलायत । दुई हप्ताअघि बेपत्ता रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ । मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्कनुभएका मोरिस बेपत्ता हुनुभएको थियो ।

गत हप्ता हेम्पसायर प्रहरी कार्यालयले खोजीका लागि सर्वसाधारणमा अपिल जारी गरेको थियो । सोमबार पुनः अर्को अपिल जारी गर्दै बेन्ट्ली वरपरका मानिसलाई आ–आफ्नो घर वरिपरिका झाडीमा केही शङ्कास्पद चिज भेटिए खबर गर्न भनिएको छ ।

यस्तै उक्त दिन सोही क्षेत्र भई आवतजावत गरेका व्यक्तिको गाडीको ‘डेसक्याप’ पनि हेर्न अनुरोध गरिएको छ । खासगरी गाडीमा जडित उक्त यन्त्रले बाहिरी वातावरणको दृश्य कैद गर्दछ । रिचार्डको खोजीका लागि तालिमप्राप्त कुकुरहरू र हेलिकोप्टरको पनि प्रयोग गरिएको छ । उहाँको घर नजिकैको जङ्गलमा प्रहरीको छुट्टै टोलीले खोजतलास तीव्र पारेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरी कूटनीतिक क्षेत्रका एक अब्बल व्यक्ति गुमाएको र उहाँलाई अझै सकुशल अवस्थामा भेट्टाउने आशा रहेको व्यक्त गरेका छन् । बेपत्ता रिचार्ड मोरिस नेपालका लागि सन् २०१५ देखि २०१९ सम्म रातदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।  (रासस)

प्रतिक्रिया दिनुहोस