‘हामीले भोगिरहेको लकडाउन रहर हैन कहर हो’ : अनुशासित भएर पालना गरौ

आइतबार, ०४ जेठ २०७७, १० : १६
‘हामीले भोगिरहेको लकडाउन रहर हैन कहर हो’ : अनुशासित भएर पालना गरौ

नेत्र सुवदी (प्रयास)
जीवनका घटनाहरू आफैमा विरोधाभासपूर्ण देखिन्छन् । सबैको जीवनमा दुःख सुखको पाटो हुन्छ नै । कहिले मिलन कहिले बिछोड, कुनै न कुनै किसिमको कष्ट, पीडा, सङ्कट नपरी व्यक्तिको जीवनको आधारभूत सिकाई नै पूर्ण हुँदैन । दिनपछि रात जस्तै हार (जीत, लाभ) नोक्सान जस्ता परस्पर विरोधी घटनाहरू जीवनमा घट्छन् । हुन पनि दुःखको अनुभूति भएर नै सुखको अनुभूतिको महत्त्व छ । जीवन जिउने कला (आर्ट अफ लिभिङ) का गुरु श्री श्री श्री रवि शंकरका अनुसार जीवन जिउने कलाका ५ प्रमुख तत्त्वहरू छन् ती यी हुन् ः

–सुख दुःखमा मनको समता कायम गर्ने ।
–जो व्यक्ति जस्तो छ त्यस्तै स्वीकार गर्ने ।
–अरूले आफ्नो बारेमा के सोचेको छ भनेर चिन्ता नगर्ने ।
–अरूले भूल गरेको अवस्थामा क्षमा गर्ने ।
–वर्तमानमा जिउने ।

Yeti Diistillery Tansen Cement box

वर्तमानलाई स्वीकार गर्नुको विकल्प छैन । ‘दि टायम टु बी ह्याप्पी इज राइट नाउ । दि वे टु बी ह्याप्पी इज टु मेक समवन ह्याप्पी’ यी दुई अङ्ग्रेजी वाक्य एउटा चर्चित नर्सरी कविताबाट लिइएको हो तर यी लाइनले दिने सन्देश समग्र मानव मात्रको लागि नै उपयोगी देखिन्छ । विश्वभरिनै सन्त्रास फैलाएको कोभिड(१९ को सन्दर्भमा हामीहरू घरमै सीमित भइरहेको अवस्थामा के कसरी जीवनलाई रुचिकर बनाउने, कसरी खुसी रहने र वर्तमानलाई सृजनशील प्रयोग कसरी गर्ने भन्ने विषयले सबैलाई सताएको छ ।

लकडाउनका कारण ज्यालादारी गरेर गुजारा गर्नेको जीवन थप कष्टकर वनेको छ । उनीहरूको दुःखमा केही भए पनि मलम लगाउन राहतसहित पुग्दा उसले मनैदेखि आशीर्वाद वा अहोभाव कसले अनुभूति नगर्ला र ? लकडाउन कष्टकर नै भए पनि हाम्रो लागि हालको वर्तमान यही नै हो । हाल हामीहरूलाई सताइरहेको समस्या समाधानतर्फ गएपछि हामीहरू नयाँ वर्तमानमा पुग्नेछौँ । अहिले हामीले भोगिरहेको लकडाउन रहर हैन कहर हो । ज्यान जोगिए “सानसँग बसौँला” भनेर गरिएको अनुशासन पालना हो । यो राज्य वा कसैको लागि हामीले गरिदिएको त्याग होइन हामी आफ्नै हितका लागि हो मानव सभ्यताको संरक्षणका लागि हो ।

साधना विना सफलता असम्भव
नोम चोम्स्कीले भनेका छन् कि परिवर्तन र प्रगति भनेका माथिबाट आउने उपहार होइनन् बरु तल नै गरिने सङ्घर्षको परिणाम हुन् । अर्थात् हामीहरू विना क्रियाशीलता फलको आसा गर्नु भनेको जीवनलाई फगत कथा ठान्नु हो अनि आफ्नो नियन्त्रणभन्दा बाहिर छ भन्ने ठान्नु हो जुन सरासर गलत प्रवृत्ति हो । त्यस्तै अमेरिकन पूर्व चिफ अफ आर्मी जर्ज प्याटनको शब्दमा भन्नुपर्दा सफलता भनेको कति माथि पुग्ने भन्दा पनि भूँइमा थचारिएपछि के कसरी माथि उठ्न सक्यो भन्नेमा जाँचिनुपर्दछ ।

सफलता र प्रगति हामीले गर्ने संयम, साहस र निष्ठापूर्वक गरिने साधनामा छ । मात्र खाँचो छ कि कुनै कठिन काम गर्नुको सट्टा बहाना बनाउनु भएन । भन्ने गरिन्छ कि कुनै काम गर्ने १०० विकल्प हुँदा काम नगर्ने चाहिँ १००० विकल्प तयार हुन सक्छन् । हामी कुन कित्तामा पर्ने हो निर्णय हामी आफैले गर्ने हो । हाम्रो जीवन बनाउने जिम्मेवारी हाम्रै पोल्टामा छ ।

भविष्य भन्दा पनि वर्तमानको लागि सोच्नुपर्दछ
विगतमा रमाउने अनि हराउने कि नयाँ निर्माणमा मन लगाउने भन्ने छनौट हाम्रै हो । अर्कोतिर भनिएको छ कि परिवर्तन मात्र स्थिर चिज हो । सुकरातले त्यसै भनेका रहेनछन् कि यदि परिवर्तनको रहस्य थाह पाउने हो भने हामीले आफ्नो ऊर्जालाई पुरानोसँग जुध्नमा हैन कि नयाँ निर्माण गर्नमा लगाउनुपर्दछ । परिवर्तन सम्भव छ भन्ने विश्वास हामीमा पलाउनुपर्दछ । हिजो सही भएको कुरा आज सही नरहन सक्छ र त्यस्तै आज सही भएको कुरा भोलि फेरिन सक्छ । यस विषयमा जागरूक भएर रहनु र वर्तमानको अस्तित्वमा चासो दिनु आवश्यक छ ।

नगर्ने बहाना र अरूलाई लगाउने आरोप दुवै खराब
बहाना बनाउने र अरूलाई आरोप लगाउने यी दुवै बानीमा सुधार गर्नु आवश्यक छ । हाम्रो जस्तो मुलुकमा सबै खाले पद्धति नबसी सकेको हुँदा काम गर्ने र नगर्ने दुवैको आलोचना गर्नेको कमी हुँदैन । भनिन्छ कि सार्वजनिक चोकमा उभिएर केही अभिव्यक्ति दिइयो भने सही वा गलत जे जस्तो भए पनि समर्थक र विरोधी दुवै हुन्छन् । भन्ने व्यक्तिको हाउभाउको कारण उसको भिडियो भाइरल पनि हुन सक्छ । त्यस्तै काम गर्ने १० बहाना हुँदा त्यही काम नगर्ने १०० बहाना बन्न सक्छन् ।

अरूलाई आरोप लगाउने सम्बन्धमा एउटा प्रसङ्ग प्राशांगिक छ । सिफ्लिज नामक रोग इस्वीको पन्ध्रौँ शताब्दीको अन्त्यमा इटालीमा कार्यरत फ्रेन्च सैनिकमा सुरुवात भई क्रमशः युरोपभरि फैलिएको थियो । छालाबाट सुरु हुने यो रोग हड्डी हुँदै अस्थिपञ्जर प्रणालीमा फैलने व्याक्टेरियल रोग थियो । उक्त खतरनाक रोगलाई युरोपका देशहरूले अरू देशको रोग भनेर चिनाउँथे । रसियामा यो रोगलाई पोलिस रोग भनियो, पोलाण्डमा जर्मन रोग भनियो त्यस्तै जर्मनीमा फ्रेन्च रोग नाम दिइयो, फ्रान्समा भने यसलाई इटालियन रोग भनियो, इटालियनहरू पनि के कम फ्रेन्च रोग भनिदिए । यसबाट के बुझिन्छ भने हामीहरू मौका पायौँ भने खराब चिज अरूको भन्न खोज्छौँ ।

यो प्रशंग कोभिड(१९ नामाकरण पछि पनि अमेरिकी राष्ट्रपतिले कोरोना भाइरसलाई चाइनिज भाइरस नाम दिन खोजेको घटनाबाट पनि पुनः पुष्टि हुन्छ । अहिले नेपालीहरूले भारतबाट आउने नेपालीका कारण कोरोना सङ्क्रमण बढेको हुँदा भारतलाई दोष दिइरहेका छन् । आफू सजग हुने भन्दा पनि हामीहरू अरूलाई आरोप लगाउन हतार गर्दछौँ । हामी अरूको सम्बन्धमा निकै छिटो टिप्पणी गर्दछौँ । आफ्नो समस्याको समाधान अरुमा खोज्छौँ यी दुवै काम असल होइनन् । कार्ल गुस्ताव जंगले भनेका छन् कि आफूभित्र रहेको अँध्यारोलाई बुझ्नु नै अरुमा रहेको अँध्यारो सम्बन्धी जानकारी राख्ने उत्तम उपाय हो ।

हामीभित्रको अहङ्कार नै प्रमुख शत्रु
हाम्रो विचार र चिन्तनलाई असर गर्ने तीन तत्त्व भनेका मन, बुद्धि र अहङ्कार हुन् । यी तीनै चिज सूक्ष्म हुन्छन् देख्न छाम्न नसकिने मात्र कामको परिणामबाट आकलन हुने । जसरी कोरोना भाइरस सूक्ष्म भएकै कारणले खतरनाक छ त्यसै गरी अहङ्कार पनि घातक छ अनि अनुकूल परिवेश पायो भने एकव्यक्तिवाट अर्कोमा सर्न सक्छ । चलचित्र कलाकार निखिल उप्रेती जो योग साधना गर्ने गर्दछन् उनले जीवन र जगत् नामक टेलिभिजन कार्यक्रममा भनेका छन् कि “कोरोनाभन्दा मानिसमा भएको अहङ्कार डरलाग्दो छ” ।

यही हाम्रो जीवनलाई गैर मानवीय बनाउने अहङ्काररूपी अँध्यारोलाई पराजित गर्न सकेमा मात्र आफ्नो अस्तित्व सम्बन्धमा प्रष्टता आउने र हाम्रो जीवन अर्थपूर्ण हुने विचार जीवन विज्ञानका ज्ञाताहरूले प्रकट गरेका छन् । हामी पनि मनन गरौँ अनि व्यवहारमा उतारौँ। भवतु सव्व मंगलम् ।
(लेखक वाणिज्य, आपूती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक हुनुहन्छ)