आर्थिक वृद्धिदरको अन्तिममा वागमती प्रदेश

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, १७ : ०६
आर्थिक वृद्धिदरको अन्तिममा वागमती प्रदेश

काठमाडौं । चालु आर्थिक वर्ष २०७६ र ७७ मा आर्थिक वृद्धिदरको लास्टमा पर्ने भएको छ बागमती प्रदेश । सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आवमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम र सबैभन्दा कम वृद्धिदर वागमती प्रदेशको हुने भएको छ ।

गत आवमा प्रदेश नं २ को आर्थिक वृद्धिदर राम्रो थियो । विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने भएको छ । समग्र मुलुकको आर्थिक वृद्धिदर भने २.२८ प्रतिशत रहने प्रक्षेपण यसअघि नै सार्वजनिक भएको थियो । यस वर्ष बागमती प्रदेशमा आर्थिक वृद्धिदर मात्र १.२३ प्रतिशत रहने भएको छ । त्यसो त आर्थिक गतिविधि सबैभन्दा धेरै बागमतीमा हुने गर्छ ।

अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादन जीडीपीको ठूलो हिस्सा पनि बागमतीले ओगटेको छ । यस क्षेत्रमा कोरोनाका कारण धेरैजसो आर्थिक गतिविधि पछिल्लो दुई महिनायता ठप्प रहेका छन् ।

यसले आर्थिक वृद्धिदरमा असर गरेको विभागले उल्लेख गरेको छ । विभागले आर्थिक वृद्धि र जीडीपीको प्रक्षेपण गर्दा होटेल तथा रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस वर्षको अन्त्यसम्म जाने र अन्य क्षेत्र भने जेठबाट क्रमशः अगाडि बढ्ने अनुमानसहित प्रक्षेपण तयार पारिएको छ ।

प्रदेश १ को आर्थिक वृद्धिदर ३.४१ हुने भएको छ भने प्रदेश २ को २.२८ हुनेछ । गण्डकीको २.६८, प्रदेश पाँचको २ र कर्णालीको ३.५६ हुने भएको छ । जीडीपीमा बढी योगदान बागमतीबाट, कम योगदान कर्णालीको हुनेछ । 

प्रतिक्रिया दिनुहोस