डेरी उद्योगीहरुले भने– दूध ढुवानीका गाडीलाई ‘टाइम कार्ड’ नलगाऊ

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, १६ : ००
डेरी उद्योगीहरुले भने– दूध ढुवानीका गाडीलाई ‘टाइम कार्ड’ नलगाऊ

काठमाडौं । दुग्ध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडी चल्नबाट रोक लगाएपछि डेरी उद्योगीहरुले गृहमन्त्रालयलाई गुहारेका छन् । अत्यावश्यकमध्ये दुध ढुवानीका लागि सञ्चालित गाडीहरुलाई ‘टाइम कार्ड’ को कारण देखाउँदै १० बजेपछि चल्न नदिएपछि नेपाल डेरी एशोसिएशनले त्यसको विरोध गर्दै गृहमन्त्रालयलाई पत्र बुझाएको हो । 

लकडाउनको समयमा पनि दुध तथा दुग्ध पदार्थ ढुवानी गर्र्ने सवारी साधनलाई सहज रुपमा आवतजावत गर्न दिइरहेकोमा बैशाख २८ गतेबाट समय तालिका टाइम कार्ड निर्धारण गरिएपछि विहान १० वजेपछि त्यसलाई राकेपछि समस्या भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले बताए । 

तोकिएको सो समय तालिकाभित्र रहेर दुध तथा दुग्धजन्य पदार्थ ओसारपसार गर्न कठिन हुने हुँदा सो समय तालिकामा औषधी र खानेपानीलाई छुट दिएजस्तै डेरी क्षेत्रलाई पनि विना रोकतोक सञ्चालनका लागि सहजीकरण गरिदिन गृहमन्त्री रामबहादुर थापालाई एशोसिएशनले आग्रह गरेको छ । 

पत्र बुझाउन गएका एशोसिएशनका प्रतिनिधिलाई गृहमन्त्री थापाले भेट्न नमानेपछि मन्त्रीको नीजि सचिवालयमा पत्र दर्ता गराएर उनीहरु फर्किएका छन् । एशोसिएशनका प्रतिनिधि ट्राफिक प्रमुखसँग कुरा गर्नका लागि बगीखाना पनि पुगेका छन् । 
विगतका बन्द हड्ताल र हालको लकडाउनमा समेत विना रोकतोक दुध तथा दुध पदार्थ ढुवानी गर्ने सवारी साधनलाई रोकतोक गरिएको थिएन । अहिले आएर रोकिएपछि उपभोक्ता मर्कामा परेको डेरी उद्योगी सुमित केडियाले बताए । उनले आफूहरुले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय पनि गुहारेको तर उताबाट कुनै सुनुवाई नभएपछि गृहमन्त्रीलाई गुहारेको बताए । 

कृषि मन्त्रालयले पनि कृषिजन्य पदार्थ तथा दुग्धजन्य पदार्थ ढुवानी, बिक्री वितरणमा कुनै प्रकारको रोकतोक नगर्न सम्बन्धित पक्षलाई सूचना जारी गरेको थियो । तर अहिले टाइम कार्डका आधारमा ढुवानी गर्ने सवारी साधनमाथि रोक लगाएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस