देवघाटमा राति दाहसंस्कार गर्न रोक

रासस

शनिबार, २७ बैशाख २०७७, १४ : २८
देवघाटमा राति दाहसंस्कार गर्न रोक

– नारायण अधिकारी

चितवन । देवघाटमा राति दाहसंस्कार गर्न रोक लगाइएको छ । देवघाट क्षेत्र विकास समितिले राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार धार्मिक मान्यताअनुसार रातको समयमा अन्त्येष्टि राम्रो नमानिने र व्यवस्थापनसमेत कठिन हुने भएकाले रातको समयमा अन्त्येष्टि रोकिएको हो । सुरक्षाका हिसाबले पनि राति उपयुक्त नहुने उहाँको भनाइ छ । पौडेलले भन्नुभयो, “रातको समय गङ्गा विश्रामको समय पनि हो । शास्त्रीय मान्यताअनुसार रातमा अन्त्येष्टि गर्नु हुँदैन ।”

राति एकाएक नदी बढ्न सक्ने र शङ्कास्पद शव आउन सक्ने भएकाले रातको समयमा दाहसंस्कार रोकिएको हो । समितिले दाहसंस्कारका लागि ल्याउने शवको दर्ता गर्ने गरेको छ । दाहसंस्कारका लागि दाउरा पनि उपलब्ध गराउँदै आएको छ । त्यसवापत एउटा शवको रु तीन हजार ५०० दाउरा र रु ५०० वातावरण शुल्क लिने गरेको छ । अति गरिबका लागि निःशुल्क गरिँदै आएको छ । राति १० बजेपछि आउने शवलाई शव प्रतीक्षा भवनमा राखेर बिहान ४ बजेदेखि दाहसंस्कार गर्न भनिएको छ ।

शव घट्यो

लकडाउनसँगै दाहसंस्कारका लागि आउने शव आधाभन्दा कम भएको छ । पौडेलका अनुसार त्यसअघिका समयमा दैनिक १५ वटा हाराहारी शव दाहसंस्कारका लागि ल्याउने गरेको भए पनि अहिले यो सङ्ख्या सातको हाराहारीमा झरेको छ । देवघाटमा मुख्यरुपमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ । समितिले दाहसंस्कारका लागि आउँदा २५ जनाभन्दा बढी नआउन अनुरोध गरेको छ । यद्यपि अटेर गर्ने गरिएको पौडेलले बताउनुभयो । उहाँले अहिलेको विसम परिस्थितिमा थोरै सङ्ख्यामा आएर अन्त्येष्टि गर्न सबैसँग आह्वान गरिएको पनि जानकारी दिनुभयो ।

समितिको असन्तुष्टि

देवघाटमा दाहसंस्कारका लागि आउने मलामीले न्यूनतम आचरणसमेत पालना नगरेको भन्दै पौडेलले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँका अनुसार मलामी आउनेहरु शोक मुद्रामा हुनुपर्नेमा मलामीले मदिराको भट्टी पसलसमेत खोज्दै हिँड्ने गरेको पाइन्छ । उहाँले भन्नुभयो, “देवघाटको गरिमा म¥यादा र आचरणको ख्याल गर्नु प¥यो ।” अन्त्येष्टिपछि फर्कंदा गङ्गामा स्नान गरेर चोखो भएर फर्कनु पर्ने उहाँको भनाइ छ । धार्मिक विधिअनुसार मलामी गएकाहरुले चोखो बसेर एक छाक छाड्नु पर्ने भन्दै उहाँले ती पूरै कर्म पूरा गर्न नसके पनि न्यूनतम कर्म भने भुल्न नहुने बताउनुभयो । यो विधि परम्परागतमात्र नभएर वैज्ञानिक पनि भएको पौडेलको भनाइ छ ।

शवसँगै फोहर बढ्यो 

देवघाटमा दाहसंस्कारसँगै फोहर धेरै आउने गरेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार एउटा शव ल्याउँदा एक ट्र्याक्टरसम्म शवजन्य फोहर आउने गरेको छ । फोहर व्यवस्थापनका लागि भरतपुर महानगरपालिकासँग सहकार्य गरेर त्यहाँ फोहर सङ्कलन केन्द्र निर्माण गरिएको छ ।

हप्तामा दुईपटक महानगरले फोहर उठाएर बिसर्जन गर्ने गरेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार कुनै पनि फोहर गङ्गामा फाल्न पाइँदैन । सकेसम्म नदीलाई प्रदूषण हुनबाट रोक्ने काम भइरहेको छ । दाहसंस्कारका लागि आउने मलामीलाई माइकिङमार्फत नियमित सन्देश प्रवाह गरिँदै आएको छ । धार्मिक मान्यताअनुसार देवघाटमा अन्त्येष्टि गरिएमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस