रुपन्देहीमा किट अभावले कोरोना परिक्षण रोकियो

शुक्रबार, १९ बैशाख २०७७, ०७ : ५६
रुपन्देहीमा किट अभावले कोरोना परिक्षण रोकियो

सांकेतिक तस्बिर ।

रुपन्देही । भाइरस प्रोसेसिङ किट (आरएनए एस्ट्राक्सन) अभाव भएपछि भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोभिड–१९ को परीक्षण बिहीबारदेखि रोकिएको छ । परीक्षण रोकिएपछि पश्चिम परासी, रूपन्देही र कपिलवस्तुमा संकलन गरिएका स्वाब परीक्षणका लागि राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन थालिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले आरटी–पीसीआर (रियल टाइम–पोलिमरेज चेन रियाक्सन) मेसिनबाट परीक्षण हुन्छ ।

पछिल्लो साता प्रयोगशालामा प्रोटेबल पीसीआर मेसिन जडान भएको छ । एकैपटकमा धेरै नमुनाको जाँच गर्न सकिने भए पनि थ्रोट स्वाब संकलनपछि प्रोसेसिङ गर्ने आरएनए किट अभाव भएको प्रयोगशाला प्रमुख डा। राजेन्द्र गिरीले बताए । ‘दैनिक ९४ जनासम्मको परीक्षण हुँदै आएको थियो,’ उनले भने, ‘बिहीबारदेखि परीक्षण ठप्प छ ।’ किट माग गरेको भए पनि प्राप्त नभएको उनले बताए ।

प्रदेशमा पीसीआर मेसिनबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल बाँकेमा परीक्षण सुरु गरिएको थियो । भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दैनिक एक सय वटाभन्दा बढी थ्रोट स्वाब संकलन भइरहेका छन् । तर अहिले परीक्षण रोकिएको छ । बिहीबारसम्ममा प्रयोगशालामा २ सय ८२ स्वाब संकलन भए पनि परीक्षण रोकिएको डा। गिरीले बताए । त्यस्तै भेरी अस्पतालको प्रयोगशालाले बिहीबारसम्ममा १ सय ९३ जनाको स्वाब संकलन गरेको छ । तीमध्ये १ सय ३९ जनाको परीक्षण भएर रिपोर्ट नेगेटिभ आएको छ ।

भेरीका प्रयोगशाला प्रमुख प्रसन्न मिश्रका अनुसार दैनिक ५० देखि ५५ जनाको परीक्षण हुने गरेको छ । त्यहाँ पनि भाइरस प्रोसेसिङ गर्ने किट न्यून छ । प्रदेशका तीनवटै प्रयोगशालामा स्वाब संकलन गरेर ल्याउने भीटीएम (भाइरल ट्रान्सफर मिडिया) पर्याप्त छ । तर संकलित स्वाबको परीक्षण गर्ने प्रोसेसिङ किट अभाव भएको हो । पीसीआर मेसिनबाट भाइरस प्रोसेसिङका लागि रि–एजेन्ट किट आवश्यक पर्छ । त्यो पनि न्यून छ । अहिले तीनवटै प्रयोगशालामा गरेर दैनिक झन्डै दुई सय परीक्षण हुन थालेका छन् ।

त्यसका लागि त्यति नै संख्यामा दैनिक स्वाब संकलन हुनुपर्छ । भीटीएम पर्याप्त भए पनि प्रोसेसिङ किट अभाव भएपछि परीक्षण रोकिने अवस्था आएको र थप किट माग गरेर पठाइएको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । प्रोसेसिङ किट अभावले रूपन्देहीका विभिन्न स्थानका क्वारेन्टाइनबाट संकलन भएका स्वाबको पनि परीक्षण हुन सकेको छैन । ‘संघीय स्वास्थ्य मन्त्रालयमै किट अभाव छ,’ मन्त्री बरालले भने, ‘माग गरे पनि तत्काल आउन सक्ने सम्भावना कम भएपछि तत्कालका लागि परीक्षण गर्न काठमाडौंमै पठाउन थालेका छौं ।’ केही दिनमै किट आउने जानकारी आएको उनले बताए ।

प्रदेशका विभिन्न जिल्लामा भारत र तेस्रो मुलुकबाट आएका कम्तीमा २५ हजारको थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्नैपर्ने अवस्थाका छन् । तर अहिलेसम्म त्यस्ता १ सय ५० भन्दा बढीको मात्र परीक्षण भएको र बाँकीको स्वाब संकलन भइरहेको मन्त्री बरालले बताए । ‘अब किट नभए त्यो पनि रोकिन्छ,’ उनले भने । प्रदेश ५ मा बुधबारसम्म क्वारेन्टाइनमा १२ हजार ५ सय १४ जना छन् ।

तीमध्ये ३ हजार ३ सय ९९ जनाको आरडीटी परीक्षण गरिएको छ । पश्चिम परासी र अर्घाखाँचीका दुई जनाको पोजिटिभ रिपोर्ट आएकामा पीसीआर परीक्षणमा दुवैको नेगेटिभ रिपोर्ट आएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । ७ सय ९९ जनाको स्वाब संकलन भएकामा ५ सय २५ जनाको नेगेटिभ रिपोर्ट आएको र २ सय ७४ जनाको परीक्षणकै क्रममा रहेको प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस