किम जोन उङको अवस्था मलाई सबै थाहा छ : अमेरिकी राष्ट्रपति ट्रम्प

मंगलबार, १६ बैशाख २०७७, १० : ४३
किम जोन उङको अवस्था मलाई सबै थाहा छ : अमेरिकी राष्ट्रपति ट्रम्प

file photo

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कालबाजी भईरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किमको स्वास्थ्य अवस्थाबारे आफूलाई सबै जानकारी रहेको दाबी गरेका छन् । सोमबार  ब्रिफिङ्गको क्रममा ट्रम्पले भने, ‘मलाई किम जोङ–उनको अवस्था थाहा छ । तर सबै अहिले बताउन सक्दिन । यति चाहिँ भन्न सक्छु कि उनी राम्रो हुन् भन्ने कामना छ । किम जोङ–उनसँग मेरो राम्रो सम्पर्क छ ।’

उनले भने–‘तपाईँहरुले पनि किमको अवस्थाका बारेमा चाँडै थाहा पाउनु हुनेछ ।’ तर ट्रम्पले भने गएको शनिबार नेता किमको सन्देश भनी उत्तर कोरियाका सञ्चारमाध्यमले जारी गरेको सन्देश सोही दिनको हो भन्नेमा आशंका रहेको बताए । सोमबार उत्तर कोरियाको आधिकारिक पत्रिका रोडोङ्ग सिन्मुनले नेता किमले वुन्सान क्षेत्रको पर्यटन परियोजनाका कामदारहरुका लागि धन्यबाद भनेको उल्लेख गरेको थियो । उत्तर कोरियाका सञ्चारमाध्यमले नेता किमका नाममा पछिल्ला दिनमा विभिन्न सन्देशहरु सम्बन्धी खबर प्रकाशित गरेका छन् । तर कुनैले पनि नेता किमको तस्बिर छापेका छैनन् ।

वासिङ्गटनमा आधारित गुप्टचर निकाय ३८ नर्थले स्याटेलाइट तस्बिरमा वुन्सान क्षेत्रमा नेता किमले प्रयोग गर्ने गरेको रेल विगत केही दिनदेखि पार्क गरिएको बताएको थियो । यसअघि आइतबार उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको थियो । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो ।

किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित नै रहेको दक्षिण कोरियाका अधिकारीले बताएका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनका राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष सल्लाहकार मून–चुङ्ग–इनले सिएनएनसँगको अन्तर्वार्तामा आइतबार भनेका थिए, ‘हाम्रो स्पष्ट भनाई यो छ कि कमि जोङ–उन जीवित र राम्रो अवस्थामा छन् ।’ नेता किम अहिले वुन्सान नामको रिसोर्ट टाउनमा रहेको उनले बताएका छन् ।

नेता किम अप्रिल १५ मा हजुरबुवा ९उत्तर कोरियाका संस्थापक किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका छन् । नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका छैनन् । त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् । कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन् ।

गएको सोमबार दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस