कोरोनाबाट संक्रमित चिनका दुई डाक्टर निको भए, तर छालाको रंग बदलिएर कालो भयो

बुधबार, १० बैशाख २०७७, १५ : ३७
कोरोनाबाट संक्रमित चिनका दुई डाक्टर निको भए, तर छालाको रंग बदलिएर कालो भयो

एजेन्सी । उहान शहरमा बिरामीको उपचार गर्दागर्दै कोरोनाबाट संक्रमित हुन पुगेका दुई डाक्टर उपचारपछि निको भएका छन् । तर, उनीहरुको छालाको रंग बदलिएर कालो भएको छ । 

डाक्टर यी फान र डाक्टर हु विईफिङको उमेर ४२ वर्ष भयो । उनीहरुमा उहान केन्द्रीय अस्पतालमा काम गर्दैगर्दा १८ जनवरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 
चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीका अनुसार दुबैलाई उहान पुल्मोनारी अस्पताल लगियो र त्यसपछि दुईपटक अन्यत्र सारियो ।

भाइरसले कलेजोमा क्षति पु¥याएपछि उनीहरुमा हर्मोनल असन्तुलन देखिएको र छालाको रंग बदलिएको यस सञ्चारमाध्यमको समाचारमा उल्लेख छ ।
तर, सुरुवातदेखि उनीहरुले सेवन गरेको औषधीको असरका कारण छाला कालो भएको एक डाक्टरको अनुमान छ । 

कार्डियोलोजिस्ट यीलाई संक्रमण देखिएपछि बचाउनका लागि ३९ दिनसम्म लाईफ सर्पोट मेसिन (एक्स्ट्राकोर्पोरियल मेम्ब्रान अक्सिजेसन–इसिएमओ) प्रयोग गरिएको थियो । 

ओपन हर्ट जसरीमा प्रयोग हुने हर्ट–लङ बाइपास मेसिनले जस्तै यो मेसिनले पनि पम्प गर्ने र बिरामीको रगतलाई शरीर बाहिर अक्सिजेनेट गर्ने गर्छ । 

‘जब म पहिलो पटक होशमा आएँ र आफ्नो अवस्था थाहा पाएँ, त्यसपछि आत्तिए, मलाई अन्धकारजस्तै महसुस समेत भएको थियो, यीले अस्पतालको बेडबाट सिसिटिभीसँग भनेका छन् । 

उपचारमा संलग्न डाक्टर लि सुसइङका अनुसार युरोलोजिस्ट हु, ९९ दिनसम्म अस्पतालको बेडमा छन् र ७ फेब्रुअरीदेखि २२ मार्चसम्म इसिएमओ थेरापी गर्नुपर्दा अहिले निकै कमजोर छन् । उनले ११ अप्रिलबाट बल्ल बोल्न थालेको डाक्टरले बताए । 

उनले बिस्तारै छालाको रंग पुरानै अवस्थामा फर्कने अनुमान गरिएको बताए । 

यी र हु दुबै डाक्टर लि वेनलियाङसँगै काम गर्थे । लि वेनलियाङले नै पहिलोपटक कोरोनाका विषयमा गोप्य जानकारी बाहिर ल्याएर सर्वसाधारणलाई सचेत गराएका थिए, यी डाक्टरलाई यसबापत चीन सरकारले सुरुमा कारबाही पनि गरेको थियो । कोरोनाकै कारण ७ फेब्रुअरीमा उनको निधन भयो । 

अहिले यी र हु दुबैलाई उनीहरुले अनुभव गरेको पीडाबाट उकास्नका लागि मानसिक रुपमा चिकित्सकहरुले सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस