‘कोरोना भाइरसलाई परास्त गरेरै घर फर्कन्छु’

बुधबार, १० बैशाख २०७७, १४ : १९
‘कोरोना भाइरसलाई परास्त गरेरै घर फर्कन्छु’

बागलुङ । बागलुङ नगरपालिका–४ स्थित कुँडुलेकी १९ वर्षकी अन्सु सापकोटा आफ्नो आमाबुवालाई भेट्न गत मंसिर महिनामा बेल्जियम गएकी थिइन् । उनका आमाबुवा विगत १५ वर्षदेखि बेल्जियममै बस्दै आएका छन् । हजुरबुबा हजुरआमासँग बस्दै आएकी अन्सु कक्षा ११ को अध्ययन सकेर परीक्षाको मुखमा आमाबुबा भेट्न बेल्जियम गएकी थिइन् । 

वैशाख २१ गतेबाट उनको कक्षा ११ को परीक्षा थियो । परीक्षाको लागि उनी चैत ४ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन् ।  यती एयरको विमानबाट पोखरा आइन् । जीप चढेर चैत ४ गते साँझ नै बागलुङ नगरपालिका–४ कुँडुलेस्थित घर पुगिन् ।

घरमा रहेका हजुरबुबा र हजुरआमामा खुसी छायो । ४ महिनाको बेल्जियम बसाइँपछि घर आएकी अन्सुले खुसी साटासाट गरिन् । यतिबेलासम्म उनलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको थिएन । उनलाई परीक्षाको बाहेक अरु कुनै चिन्ता पनि थिएन ।  हजुरबा–हजुरआमा नातिनी घर आएसँगै दङ्ग परेका थिए ।

विदेशबाट आएपछि उनी घरमै बसिन्, कतै गइनन् । उनलाई कोरोनाको महामारीबारे राम्रो ज्ञान थियो । उनले समाचार सुनेर कोरोनाको बारेमा जानकारी लिएकी थिइन् । बेल्जियमबाट आउँदा पनि मास्क, सेनिटाइजरको प्रयोग गर्दै सतर्कता अपनाएकी थिइन् ।

अचानक ज्वरो

चैत ७ गते अन्सुलाई अचानक ज्वरो आयो । ज्वरो आएपछि हजुरबुबा र हजुरआमा आत्तिए, तर अन्सु कति पनि आत्तिनन् । रुघा र अलि–अलि खोकी पनि लाग्यो । अन्सुलाई सामान्य ओखतीले ज्वरो कम हुँदै गइरहेको थियो ।

उनी आफैँ हजुरबुबा र हजुरआमालाई केही हुँदैन भन्दै सान्त्वना दिइरहेकी थिइन् । ज्वरो आइरहेको हुनाले उनको स्वाब परीक्षण भयो । उनलाई चैत १५ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि पनि भयो ।

संक्रमण भएको खबर पाउँदा म चिन्तित भइनँ । संसारका धेरै मान्छेले कोरोना भाइरसलाई जितेका छन् भन्ने लागेको थियो’ अन्शु भन्छिन्, ‘संक्रमण हुँदा सुरुमा त विश्वास नै लागेन । सामान्य अवस्थामै थिएँ। कसरी संक्रमण भयो पत्तै भएन ।’

संक्रमण पुष्टि भएकै दिन उनलाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरियो । त्यसपश्चात अस्पतालकै आइसोलेशन वार्डमा उपचाररत छिन् अन्सु । उनी सामान्य अवस्थामा छिन् । हालसम्म ४ पटक कोरोना परीक्षण भइसक्यो तर सबै रिपोर्ट पोजिटिभ आइरहेको छ । मनभरि आत्मबल बनाएर अन्सु भन्छिन्, ‘म सामान्य नै छु, केही समस्या  छैन ।  छिट्टै म पनि निको भएर फर्कन्छु ।’

उनलाई डाक्टर र नर्सहरुले पनि आत्मबल थपिरहेका छन् । आत्मबलले नै कोरोना भाइरसलाई जित्न सकिन्छ भन्ने दृढ संकल्प अन्सुमा रहेको पाइन्छ ।

अन्सुलाई आत्मबल बेल्जियमा रहेकी उनकी आमाले दिइरहेकी छन् । ‘म आइसोलेसनमा छु, ममा आत्मबल भर्ने काम डाक्टर र नर्सले पनि गरिरहेका छन्, सबैभन्दा बढी मलाई मेरो ममीले आत्मबल दिइरहनुभएको छ’ अन्सुले भनिन् । हरेक पटक आमाले ठिक हुन्छ भन्दै उत्साह भर्ने गरेको उनी बताउँछिन् ।

अस्पतालमै परीक्षाको तयारी

वैशाख २१ गतेबाट हुने भनिएको कक्षा ११ को परीक्षा हाल स्थगित भएको छ । अब कहिले हुन्छ, आजको दिनसम्म थाहा छैन । तर अन्सु आइसोलेसनमा बस्दा पनि पढिरहेकी छन् । उनी भन्छिन्, ‘अस्पतालमा आफ्नो समय साथीहरुसँग कुराकानी गर्ने, यूट्यूवमा फिल्म हेर्ने अनि पढाइमा बिताउने गरेकी छु ।’

अन्सु फोनमा आफ्ना साथी भाइ आफन्त सबैलाई आफू छिट्टै निको हुने बताइरहेकी छिन् । उनी भन्छिन्, ‘मेरो परिवार, डाक्टरहरुले मलाई साथ दिनुभयो, हौसला दिनु भयो, त्यसैले म अहिलेसम्म ठिक छु । आज धेरै शुभचिन्तकहरुले फोनबाट, म्यासेजबाट हौसला दिनुहुन्छ । मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुन्छ, यसले आत्मबल बढेको छ ।’

सबैभन्दा बढी आत्मबल आमाबाट मिलेको उनी बताउँछिन् । भन्छिन्, ‘आमाको हरेक कल मेरो लागि ओखती बनिरहेको छ । कोसौं टाढा रहे पनि आमाको आवाज, आड–भरोसा अनि स्नेह नै  उपचारमा ओखती बनेको छ ।’ अहिले त रोगलाई परास्त गर्ने हिम्मत जुटिसकेको छ ।’

आमाबुबाले नै हो अन्शुलाई नडराइ बस्न र आफ्नो परिचय नलुकाउन सुझाव दिएका हुन् । ‘कोरोना लाग्दैमा परिचय नै लुकाउन जरुरी छैन, तिमी नडराऊ, केही हुँदैन । आत्मबल बलियो बनाऊ, निको हुन्छ,’ आमाले भनेको सम्झिन्छिन् अन्शु । कोरोना भाइरसलाई परास्त गरेरै घर फर्कने अन्सु बताउँछिन् । अस्पतालको आइसोलेशन कक्षमा कुनै समस्या नभएको उनको भनाइ छ ।