भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या १८ हजार ५०० नाघ्यो

मंगलबार, ०९ बैशाख २०७७, १३ : ५७
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या १८ हजार ५०० नाघ्यो

नयाँ दिल्ली । गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । 

मङ्गलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १८ हजार ६०१ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ । 

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार २५२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजार ७५९ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९० पुगेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ 

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार ६६६ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २३२ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५७२ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।

महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ८१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४७ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ४३१ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 

यस प्रकोपको तेस्रो स्थानमा रहेको भारतको गुजरात राज्य रहेको छ । गुजरात १ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सक्रमणबाट ७१ जनाको मृत्यु भएको छ भने, १३१ जना उपचारपछि घर फर्किएका छन् । 

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य राजस्थान चौथो स्थानमा रहेको छ ।  राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ५७६ जना पुगेको प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरू मध्ये २०५ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट राजस्थानमा २५ जनाको मृत्यु भईसकेको छ ।
 
त्यसैगरी भारतको तामिलनाडूमा कोरोना भाइरसका संक्रमितहरु १ हजार ५२० जना भेटिएका छन् । यहाँका ४५७ जना उपचारपछि घर फर्किएका छन् भने १७ जनाको मृत्यु भएको छ ।  

मध्यप्रदेशमा १ हजार ४८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  यसबाट ७४ जनाको ज्यान गएको छ भने, १२७ जना संक्रमित निको भएका छन् ।  

भारतको केरला राज्यमा ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समयमा भारतमा हरेक दिन सयौँ संक्रमित देखिन थालेका बताइएको छ ।   

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गर्नु भएको थियो । - रासस/एएनआई