सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण सुरु

बुधबार, ०३ बैशाख २०७७, ११ : ५३
सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण सुरु

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । 

कागेश्वरी मनहोरा नगरपालिकाले दिएको जानकारी अनुसार आज बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको छ । 

हिजो मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सो अपार्टमेन्टलाई शिल गरेर त्यहाँ रहेका सबैजनाको कोरोना परीक्षण गर्न लागिएको हो । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको छ ।  आज बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको बताइएको छ ।