एघार दिनदेखि हिँडेर घर फर्केकाहरुलाई खाना खुवाएर पठाइयो बसमा

मंगलबार, ०२ बैशाख २०७७, १४ : २१
एघार दिनदेखि हिँडेर घर फर्केकाहरुलाई खाना खुवाएर पठाइयो बसमा

साङ्केतिक फोटो

बुटवल । नियमित मजदूरी गर्दै आएको ठाउँमा काम रोकियो । काम रोकिएपछि केही दिनमै दैनिक खर्च सकियो । लकडाउन थपियो, काम खुल्ने कुनै टुङ्गो भएन । त्यसपछि सामूहिकरुपमा घर जाने निधो गरेर उनीहरु हिँडे ।

उनीहरु थिए कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लामा घर भएका १सय २० जना मजदूर । घर फिर्तीको यो पैदलयात्रा सुरु भएको थियो सोलुखुम्बुबाट । ११ औँ दिन सोमबारको राति उनीहरु बुटवल आइपुगे ।

सोमबार राति करीब ९ बजे बुटवल आइपुगेका मजदूरलाई बुटवल उपमहानगरपालिकाले निःशुल्क खानाको व्यवस्था गरेको थियो । उनीहरुको राति नै स्वास्थ्य जाँच गरेर बसमा गन्तव्यसम्म पठाउने व्यवस्था मिलायो ।

सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै उनीहरु बुटवलसम्म आइपुगेको राति सूचना पाएपछि उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले तत्कालै उनीहरु पुगेका स्थान वडा नं १ वडााध्यक्ष महेन्द्र लिगलसँग सम्पर्क गरेर खानाको व्यवस्थापन गर्न निर्देशन दिएका थिए । बुटवल–१ स्थित लायन्स आँखा अस्पताल परिसरमा उनीहरुलाई खाना खुवाउने प्रबन्ध मिलाइएको थियो । त्यहीँ नै उनीहरुको स्वास्थ्य जाँच गरेर तीन बसमा चढाएर पठाइएको थियो ।

पैदल आएका मजदूर दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका हुन् । उनीहरु सोलुखुम्बु, काठमाडौं, काभ्रेपलाञ्चोक र नारायणघाटमा विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएको बताएका छन् । उनीहरु पैदल यात्राका क्रममा बुटवलमा भेटिएका थिए ।

पैदलयात्री सबैलाई खाना खुवाएर, स्वास्थ्य जाँच गरेपछि घरसम्म पुर्‍याउन यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिका प्रमुख सुवेदीले बताए । लामो समयदेखि पैदल हिँडेको, कैयौँ दिनसम्म खाना समेत खान नपाएको र बेखर्ची जस्तै बनेर हिँडेको देखेपछि खाना तथा यातायातको व्यवस्था मिलाइएको वडाध्यक्ष लिगलले बताए ।

बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको श्रमिक हरिबहादुर चन्दले दिए । बर्दिया घर भएका उनी साथीहरुसँगै सोलुखुम्बुबाट हिँडेर आएका थिए । काठमाडौंबाट हिँडेर आएका कञ्चनपुरका छोटेलाल चौधरी र रामकिशन राना तथा बैतडीका अमबहादुर अवस्थीले पनि बुटवलमा भएको व्यवस्थाले अहिलेसम्मको पीडा भुलेको बताए ।

मजदूरलाई बुटवलमा खाना खुवाएर गन्तव्यसम्मै पुर्‍याउने ब्यवस्था गरेर नगरपालिकाले राम्रो काम गरेको बटौली संरक्षण तथा सम्बद्र्धन समितिका संयोजक रवीन्द्रगोपाल लाकौलले बताए ।