काठमाडौं । कोभिड–१९ का संदिग्धहरुको ‘थ्रोट स्वाब’ नमूना परीक्षण सङ्ख्याको मात्रा बढे पनि कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमित देखिएका छैनन् । हालसम्म भने कर्णालीमा करीब ८०० जनाको स्वाब सङ्कलन गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सुर्खेत प्रदेश अस्पतालमा स्थापित कोरोना परीक्षण प्रयोगशालाबाट आएको प्रतिवेदनले परीक्षणका लागि पठाइएका थ्रोट स्वाबको रिपोर्ट सबै नेगेटिभ देखिएको छ । रिपोर्टअनुसार कर्णाली प्रदेशका नागरिक यतिबेलासम्म सुरक्षित नै रहेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै मन्त्री रावलले भन्नुभयो, “यही प्रतिवेदनका आधारमा ढुक्क भइहाल्ने अवस्था छैन । यदि भइहाले त्यससँग कसरी जुध्ने भन्नेमा रणनीति बनाएर सरकार तयारी अवस्थामा रहेको छ ।”
यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई केन्द्रमा राखेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमलाई कोरोना परीक्षण प्रयोगशाला बनाउनतर्फ पहल भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन तीनवटै स्वास्थ्य संस्थामा प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट सहयोग गरेको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारअन्तर्गतको जनस्वास्थ्य सेवा निर्देशनलाय, प्रदेश अस्पतालसहित १० जिल्लाका स्वास्थ्य सेवा कार्यालयलाई ‘डेडिकेटेड’ अस्पतालका रुपमा विकास गर्न प्रदेश सरकार अघि बढिरहेको छ । त्यसका लागि रु छ करोड बजेट परिचालन गरिएको छ ।” प्रदेश सरकारले यहाँका पाँच हजार जनाको ‘थ्रोट स्वाब’ नमूना परीक्षणका गर्ने उद्देश्यले पाँच हजार किट ल्याइसकेको उहाँको भनाइ छ ।
उहाँका अनुसार प्रतिष्ठान, प्रदेश तथा चौरजहारी अस्पताल गरेर झण्डै ‘आइसोलेशन वार्ड’ निर्माण गर्न थालिएको छ । हाल १७ आइसियु कक्ष र आठ वटा भेन्टिलेटर यो प्रदेशमा व्यवस्था गरिएको छ । कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका निम्ति २२ किसिमका औषधि खरीदका लागि प्रदेश सरकार जनस्वास्थ्य सेवा निर्देशनालयले आजै बोलपत्र आह्वान गरेको छ ।
कर्णाली प्रदेश सरकारले यो तीन हप्तामा हेल्थ डेस्कबाट यहाँका एक लाख नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ । कोरोना प्रतिकार्यलाई केन्द्रित गरेर यो प्रदेशभरि बनाइएका ५४ वटा हेल्थ डेस्कबाट एक लाख १७ हजार ६४२ जना नागरिकलाई स्वास्थ्य जाँच सेवा प्रदान गरिएको मन्त्री रावलले बताउनुभयो । “यो प्रदेशका चार हजार १२ ‘क्वारेन्टाइन’ निर्माण गरिएकामा ७९२ जना क्वारेन्टाइनमा रहेका थिए । त्यसमा चैत १५ गतेदेखि वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा बनाइएको क्वारेन्टाइनमा राखिएका १८३ जना सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, जुम्ला र अछामका नागरिकलाई प्रदेश सरकारले आजै सम्बन्धित जिल्लातर्फ पठाएको छ,” उहाँले भन्नुभयो ।
कर्णाली प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता जोशी (भण्डारी)ले प्रदेश सरकारले करीब आठ सयजनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको बताउनुभयो । अहिलेसम्म ३१६ जनाको रिपोर्ट आएकामा सबै नेगेटिभ देखिएको र केन्द्रबाट अझै ३२९ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पाँच हजारको ‘थ्रोट स्वाब’ नमूना परीक्षण गर्न नौ जिल्लामा किट पठाइसकिएको र डोल्पामा भने भोलि पठाइनेछ ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले जुम्लाबाट नमूना परीक्षणका लागि पठाएको ३२४ जनाको स्वाब रिपोर्ट आज बेलुकासम्म आइपुग्ने जनाउनुभयो । जुम्लाबाट हालसम्म नौजनाको ‘थ्रोट स्वाब’ सकङ्लन गरी नमूना परीक्षण गरिएकामा नौजनाकै नेगेटिभ देखिएको उहाँको भनाइ थियो ।
प्रदेश सरकारले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ दल तथा नागरिक तहदेखि सबै क्षेत्रलाई समेटेर लैजाने रणनीतिलाई अघि सारेको छ । कोरोनाको भोलि आउने सम्भावित जोखिमलाई सामना गर्ने गरी स्वास्थ्य क्षेत्रको जनशक्ति परिचालन, सुरक्षा व्यवस्था व्यवस्थापन र वडास्तरमा स्वयंसेवक खटाउने गरी सरकारले तयारी थालेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै