रामेछापदेखि सुर्खेत हिँडेका यात्री भन्छन्,– सुर्खेत पुग्दासम्म बाँचिएछ भने अर्को निर्वाचनमा दललाई सिकाउँछु अंकगणित

प्रकाश सिग्देल

शनिबार, २९ चैत्र २०७६, १६ : २८
रामेछापदेखि सुर्खेत हिँडेका यात्री भन्छन्,– सुर्खेत पुग्दासम्म बाँचिएछ भने अर्को निर्वाचनमा दललाई सिकाउँछु अंकगणित

– प्रकाश सिग्देल
चितवन । हामीले सुनेका थियौं हाम्रा हजुरबुवाहरु एक साताभन्दा बढी समय लगाएर स्याङजा, पाल्पा, बागलुङ लगायतका पश्चिमी पहाडबाट तत्कालिन बटौली अर्थात अहिलेको बुटवल र सिमावर्ती भारतीय बजारमा नुन किन्न आएका कथा । १ घण्टा पनि हिड्न नसक्ने, एक छिन् हिड्ना साथ लगलगी काप्ने हाम्रा खुट्टाहरु र ढुकुरको जस्तो कमजोर मुटु भएका हामीहरुलाई हाम्रा पुर्खा र पूर्वजको अनुभव र भोगाई बेतुकका गफ जस्तो लाग्थ्यो तर आज परिस्थिीतीले हामीलाई ठ्याक्कै त्यही स्थानमा पुर्याएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको विश्वव्यापी असरको प्रभावले सृजित लकडाउनका कारण अहिले देश ठप्प छ । सवारी साधन सञ्चालन नहुँदा र लामो समयदेखि लकडाउन हुँदा त्यसबाट सृजित पछिल्लो अवस्थाले हामीलाई यही हजुरबुबाको पालाको कथा र अवस्थालाई अनुसरण गर्न बाध्य बनाएको छ । घर आडैको किराना पसलमा एक ढेडी खुर्सानी किन्न पनि हिँडेर जान नसक्ने हामीहरुलाई अहिले कोरोनाले रात दिन त्यो पनि हप्तौहप्ता हिड्नु पर्ने बाध्यकारी अवस्था सृजना गरिदियो । केही दिन यता यस्तै अवस्था सृजना भइराखेको छ । ७÷८ सय किलोमिटरको दुरी समेत मानिसहरु हिँडेरै गन्तव्यमा पुग्ने आशामा बाटो तताएका छन् । त्यो पनि मात्रै पानीको भरमा ।  अहिले पैसा भएर पनि खान पाउने अवस्था छैन् । यात्रामा कसैले दयाले केही दिए त्यसैलाई सन्जिबनी बुटी मानी स्वीकार्दै यात्रा तय गर्नु बाहेक अरु कुनै विकल्प छैन् । दया गर्नेहरुलाई र दया स्वीकार गर्नेहरुलाई पनि एक खालको त्रास भने मनमा रहने छ त्यसैले अहिले सहजै दया गर्ने र दया  स्वीकार गर्नेहरु पनि भेटाउन नसकिने अवस्था कोरोनाले बनाएको छ ।    

                                         

पछिल्लो ४ दिन यता नारायणगढ हँुदै गैंडाकोटकोटबाट अगाडि लाग्नेहरुको हुलका हुल आउने गरेको छ । बिहान होस, दिउसो होस या साँझ जुन सुकै बेला पनि मानिसहरु यो सुनसान राजमार्ग हुँदै ताँति लागेर अगाडि बढ्ने गरेका छन् । भर्खरका युवा देखि वृद्धहरु समेत सकिनसकी अगाडि पछाडि झोला बोकेर आफ्नो बाटो तताईरहेका देखिन्छन् ।

रामेछापदेखि सुर्खेतका लागि हिँडेका सुर्खेत निवासी ६५ बर्षीय कमल बुढाले रातदिन हिडेर ४ दिनमा गैडाकोटसम्म आएको बताउनुभयो ।

३ महिना अगाडि घर बनाउने कामका लागि रामेछापमा जानुभएका उहाँले त्यहाँ दैनिक ज्यालादारीमा काम गर्दै आएको बताउनु हुन्छ ।

कोरोनाले सबै बन्द भएपछि काम पनि नभएको र बसेर खान पनि नपुग्ने अवस्था भएपछि हिँडेरै भएपनि घर जानभनि साथीभाई सबै जना हिँडेको उहाँले बताउनु भयो । सुर्खेत पुग्न अझै १५ दिन पैदल यात्रा गर्नु पर्ने उहाँ बताउनु हुन्छ । आफूहरुका पिडा नसोध्न उहाँको आग्रह छ ।

उहाँ जस्तै  रामेछापमै घर बनाउने काम गर्ने जयबहादुर शाहीले एक हप्ता लगाएर गैंडाकोटसम्म आएको बताउनु भयो । रोडमा सुतेको, एक छाक खाने, एक छाक नखाने गरेर अहिलेसम्म धानिएको उहाँ बताउनु हुन्छ । आफ्ना खुट्टा सुनिएर हिड्नै नसक्ने अवस्था भइसकेको र कहाँ बेहोस भएर ढल्ने हो, कहा मरीने हो निकै पीडा भएको उहाँ बताउनु हुन्छ । राज्यले आफूहरुका समस्यामा कुनै ध्यान नदिएको भन्दै उहाँले दुखेसो गर्नु भयो ।

त्यस्तै बलाराम कठायतले रामेछाप देखी काठमाडौं हुँदै काठमाडौंबाट चितवन हुँदै सुर्खेतको लागि हिडेको बताउनु भयो । ५० वर्षीय कठायतले यात्राको थकानले आफ्ना खुट्टा सुनियर हिड्नै नसक्ने भएको, टाउको दुख्ने र ज्वरो आउन सुरु गरिसकेको भन्दै आफू बाटैमा बेहोस भएर ढलेर घर नपुग्दै बाटैमा मर्ने अवस्था सृजना हुन सक्ने संभावना भएको बताउनु भयो । अझै ४ सयभन्दा बढी किलोमिटरको यात्रा गर्नु पर्ने र त्यसका लागि कम्तिमा पनि १५ दिन लाग्ने कठायत बताउनु हुन्छ । आफ्ना नागरिकको यो अवस्था हुँदा पनि यो राज्यले नहेर्नु अन्याएको पनि हद भएको उहाँ बताउनु हुन्छ । आफूहरु रोगले भन्दा पनि भोक र थकानले मर्नें अवस्था सृजना हुन सक्ने उहाको भनाइ छ । 

त्यस्तै तेही हुलमा थिए काठमाडौं देखि पाल्पाका लागि हिँडेका श्रमिकहरु जो काठमाडौंमा घर बनाउने काम गर्दै आएका थिए ।

लकडाउनपछि ठेकेदारले खान बस्न नदिएपछि पैदल यात्रा गरेर सडकमा सुत्दै घिसं्रदै घर जान हिँडेको बताउँदै थिए उनीहरु । सकुशल आफ्नो घर, आफनो परिवार, आमा बुबा भेट्न पाए जिन्दगीको त्यो भन्दा रमाइलो र आनन्दको समय कहिल्यै नहुने कल्पना गर्छन उनीहरु । थाकेर सिथिल बनेको शरीरमा त्यही घर परिवार, आमा, बुबा, श्रीमती, छोराछोरीको कल्पनाले उर्जा दिने गरेको र त्यही उर्जाले दिन रात नभनी भोकभोकै यात्रा गर्न साहास आएको बताउँछन् उनीहरु ।

पाल्पा घर बताउने जय बहादुरले कहिलेकाही यहाँका नेता र शासक देख्दा उनिहरुकै नाममा आत्म दाहा गर्न मन लाग्ने बताउनु हुन्छ । यस्तो अवस्थामा आफ्ना नागरिक भोकभोकै रातदिन हिँड्दा पनि राज्यको कुनै भुमिका नदेखिनु कस्तो विडम्वना ? उहाँ प्रश्न गर्नुहुन्छ । ‘यस्तो गणतन्त्र भन्दा त बरु यो देशमा राजा नै ठिक थिए । अर्को निर्वाचन यिनले गर्लान नी बाँचिएछ भने मजदुरै भएपनि १० कक्षा सम्म अतिरिक्त गणित पढेको हुँ हिसाबकिताब मिलाउन जानेको छु’ उहाले आक्रोष   व्यक्त गर्नु भयो ।