कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ अर्ब रुपैयाँ

बुधबार, २६ चैत्र २०७६, १५ : ०४
कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ अर्ब रुपैयाँ

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक सातामै २ अर्ब रुपैयाँ संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले हिजो साँझ सम्म एक अर्ब ८६ करोड जम्मा भएको र झण्डै २० करोड रुपैयाँका चेक क्लियरिङमा गएको बताए । 

बिडारीका अनुसार कार्यविधिमा कोभिड–१९ रोगसँग सम्बन्धित बिरामीहरुलाई ओसारपसार गर्ने, क्वारेन्टाइनमा राख्ने, तिनको खाना खर्च बेहोर्ने, टेस्ट गर्ने, क्वारेन्टाइन बनाउने, आइसोलेसन सेन्टरहरु बनाउने, घुम्ती अस्पताल बनाउने, भइरहेको अस्पालमा सुधार विस्तार गर्ने लगायतका खर्च कोषले बेहोर्ने उल्लेख छ । 

काम शुरु भएपनि खर्च कति भयो भन्ने एकिन विवरण नआएको उनको भनाइ छ । अहिले कतिपय स्थानीय तह, प्रदेशले आफ्नै तरिकाबाट रोकथामका लागि खर्च गरिरहेको छन् । यसरी जुनसुकै रकमबाट खर्च गरिएपनि उनीहरुले बिल भरपाइ पठाउनेछन् । त्यसपछि महालेखा नियन्त्रकको कार्यालयले सोधभर्नाका लागि केन्द्रबाट पैसा पठाउँनेछ ।

रकम खर्च नभए के हुन्छ ?

सबै रकम खर्च नभए कोभिड रोग माहामारी सकिएपछि यो पैसा प्रधानमन्त्री उद्धार कोषमा जाने बिडारी बताउँछन् । उनी भन्छन्,  ‘यसमा जटिल कुरा केही छैन । यो कोषको पैसा महामारी नियन्त्रणकै लागि खर्च गर्ने  हो । भएका खर्च यसबाट सोधभर्ना गर्ने  र यदि खर्च गरेर पैसा बाँकी रह्यो भने प्रधानमन्त्री उद्धार कोषमा जानेछ ।’

प्रतिक्रिया दिनुहोस