कोरोना सन्त्रास

जापानको केही राज्यमा आपतकाल घोषणा, रोकथाम तथा फ्लूसँग लड्न १० खर्ब डलरको आर्थिक प्याकेज

मंगलबार, २५ चैत्र २०७६, २२ : १८
जापानको केही राज्यमा आपतकाल घोषणा, रोकथाम तथा फ्लूसँग लड्न १० खर्ब डलरको आर्थिक प्याकेज

टोकियो ।  कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै जापानका  केही भागमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।  जापानका  प्रधानमन्त्री शिन्जो आबेले त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गरेको बताएका छन् ।

जापानमा “विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा” नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले सोमबार नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए । यो घोषणा मंगलबार मध्यरातदेखि लागू भएको छ  । नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आआफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन् । तर यो युरोप र संयुक्तराज्य अमेरिका लगायत कतिपय देशमा गरिएको जस्तो कडा लकडाउन जस्तो प्रतिबन्ध होइन ।

जापानमा आपतकालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार व्यवसाय खुला राख्न सक्नेछन् । यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि कुनै दण्डसजायको व्यवस्था गरिएको छैन । विज्ञहरू र स्थानीय नेताहरूले आपतकाल घोषणाका लागि जोड दिएका थिए । यसैसाता टिबिएस प्रशारण संस्थाले गरेको सर्वेक्षणमा सहभागी ८० प्रतिशत जनताले आपतकाल घोषणालाई समर्थन गरेका थिए ।

घोषणाबाट टोकियो, छिमेकी चिबा, कानागावा र साइतामा, ओशाकाको पश्चिमी क्षेत्र र छिमेकी ह्योगो, र फुकुओकाको पश्चिमी क्षेत्र लगायत प्रभावित हुने जनाइएको छ । यो आपतकाल करिब एक महिनाका लागि हुनेछ । संक्रमण बढ्दै गएपछि तत्काल आपतकाल घोषणा गर्न सरकारमाथि चिकित्सा विशेषज्ञहरू सुझाव दिएका थिए । आइतबार मात्र टोकियोको शहरी इलाकामा एकै दिन १४३ जनामा कोरोना संक्रमण देखिएको थियो । हुनत यो संख्या विश्वका धेरै भागमा देखिएको संख्याभन्दा कम हो ।

राजधानी टोकियोका चिकित्सकहरूले यस हप्ता शहर पहिले नै “गम्भीर अवस्था” मा रहेको र अस्पतालको क्षमता कम रहेको भन्दै चेतावनी दिएका थिए । यसैबीच प्रधानमन्त्री आबेले कोरोनासंग लड्न र सतर्कता तथा रोकथाम गर्न सोमबार १० खर्ब डलरको प्रोत्साहन प्याकेज घोषणा गरेका थिए ।  यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत हो ।

प्रस्तावित आर्थिक प्याकेजमा मार्चको अन्त्यसम्ममा करिब २० लाख मानिसलाई फ्लुसँग सम्बन्धित औषधि (एभिजान) खरिद गर्न पनि प्रयोग गरिनेछ । अनुसन्धानमा यो औषधि कोविड–१९ को उपचारमा निकै उपयोगी हुने बताईएको छ ।