इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

सोमबार, ०७ फागुन २०७४, १२ : ४८
इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघ । इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताउनुभएको छ ।

इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको हो ।

सो विमान दुर्घटनाबाट ६५ जनाको ज्यान गएको घटनाले आफू निकै स्तब्ध हुनुभएको महासचिव गुथ्रेसका उपप्रवक्ता फराह हकले जानकारी दिनुभएको छ ।

महासचिव गुथ्रेसको तर्फबाट प्रकाशित सो विज्ञप्तिमा उक्त दुर्घटनामा परी ज्यान गएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ । साथै शोकमग्न परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको छ ।

जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुजदेखि २३ किलोमिटर र राजधानीदेखि ५०० किलोमिटर टाढा पर्दछ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस