‘चिडियाखानामा रहेको बाघमा पनि कोरोना भाईरस देखियो’

सोमबार, २४ चैत्र २०७६, ०७ : २३
‘चिडियाखानामा रहेको बाघमा पनि कोरोना भाईरस देखियो’

file Photo

अमेरिका । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मानव जाति अति प्रभावित बन्दै गएको बेला अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ । 

आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ। चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ। ‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भाइरस संक्रमणका कारण बाघको आहार घटेको छ। यद्यपि भेटेरिनरी सेवाअन्तर्गत रहेको बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ। विभिन्न जनावरले नयाँ संक्रमणलाई विभिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा बाघ र सिंहजस्ता जनावरमा भाइरस कसरी विकसित हुन्छ भन्ने अझै अज्ञात रहेको भन्दै चिडियाखानाले सबै जनावरलाई नजिकबाट नियाल्ने जनाएको छ।

चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ। न्युयोर्कमा कोरोना भाइरस संक्रमण फैलिएसँगै वन्यजन्तु संरक्षण समाजद्वारा सञ्चालित ब्रोन्ससहति चारवटै चिडियाखाना मार्च १६ बाट बन्द छन्। मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिएकाले जनावरको संरक्षणका लागि थप कदम चालिने अधिकारीहरुले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण अहिले अमेरिकामा निकै डरलाग्दो अवस्थामा रहेको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार कोेभिड १९ कै कारण दैनिक हजार भन्दा बढी सर्वसाधारको मृत्यु भईरहेको छ भने त्यतिकै संख्यामा दिनहुँ नयाँ संक्रमण थपिदै गएका छन्  ।

प्रतिक्रिया दिनुहोस