दक्षिण कोरियाको चिडियाखानाबाट ब्वाँसो भागेपछि...

एजेन्सी

शुक्रबार, ०४ बैशाख २०८३, ०७ : ४९
दक्षिण कोरियाको चिडियाखानाबाट ब्वाँसो भागेपछि...

एजेन्सी । दक्षिण कोरियाको एक चिडियाखानाबाट भागेको ब्वाँसो अन्तत: फेला परेको छ । न्युक्गु नामको दुई वर्षीय ब्वाँसोलाई ९ दिन लामो खोजीपछि अधिकारीहरुले नियन्त्रणमा लिन सकेका हुन् । 

डेजन सहरस्थित ओ-वर्ल्ड चिडियाखानाबाट भागेको उक्त ब्वाँसोलाई शुक्रबार बिहान सबेरै एउटा एक्सप्रेसवे नजिकैबाट नियन्त्रणमा लिइएको हो। स्वास्थ्य परीक्षणका क्रममा ब्वाँसोको मुटुको धड्कन र शरीरको तापक्रम सामान्य रहेको र ऊ स्वस्थ रहेको अधिकारीहरूले बताएका छन्।

न्युक्गुको खोजीका लागि सयौं उद्धारकर्मीहरू परिचालन गरिएको थियो। खोजीका क्रममा ब्वाँसो धेरै पटक फेला पर्ने अवस्थामा पुगे पनि उम्कन सफल भएको थियो। ब्वाँसो सडकमा कुदिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसले ठूलो चर्चा पाएको थियो। 

यो ब्वाँसो कोरियाली प्रायद्वीपबाट लोप भइसकेको प्रजातिलाई पुनः स्थापना गर्ने कार्यक्रम अन्तर्गत जन्मिएको थियो। सन् २०१८ मा सोही चिडियाखानाबाट भागेको एउटा चितुवालाई नियन्त्रणमा लिने क्रममा मारिएको घटनाका कारण पशु अधिकारकर्मीहरू न्युक्गुको सुरक्षालाई लिएर चिन्तित थिए। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्योङबाट समेत सामाजिक सञ्जालमार्फत न्युक्गुको सकुशल फिर्तीका लागि प्रार्थना भएको थियो ।

अन्ततः बिहीबार साँझ प्राप्त एक विशेष सूचनाका आधारमा चलाइएको अपरेशनमा ब्वाँसोलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो। डेजन नगर सरकारले न्युक्गुको सुरक्षित फिर्तीका लागि खटिने सबै उद्धारकर्मी र चिन्ता व्यक्त गर्ने नागरिकहरूलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनुहोस