ईरान विश्वकै लागि सबैभन्दा बढी खतरा : नेतन्याहू

सोमबार, ०७ फागुन २०७४, ०७ : २५
ईरान विश्वकै लागि सबैभन्दा बढी खतरा : नेतन्याहू

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले ईरान विश्वका लागि सबैभन्दा बढी खतरा रहेको बताएका छन् । म्यूनिखमा आयोजित सुरक्षा बैठकमा ईरानप्रति आक्रामक देखिएका प्रधानमन्त्री नेतन्याहूले उसलाई विश्वका लागि सबैभन्दा ठूलो खतरा भएको बताएका हुन् ।

ईरानका विदेश मन्त्री मोहम्मद जावेद जरिफलाई ईरान नेतृत्वको ‘वाकपटु’ प्रवक्ताको संज्ञा दिँदै नेतन्याहूले उनी सधै झुठो मात्रै बोल्ने गरेको आरोप लगाए । जरिफ उक्त बैठकमा ईरानको प्रतिनिधित्व गरिरहेका छन् । उनले बैठकलाई सम्बोधन गर्न बाँकी छ ।

नेतान्याहूले गत साता इजरायलको सीमा क्षेत्रमा ईरानले पठाएको ड्रोनलाई आफ्नो सुरक्षा बलले नष्ट गरेको बताए । तर ईरान यो आरोपलाई अस्वीकार गर्दै आएको छ ।

उनले नष्ट गरिएको ड्रोनको अवशेष हातमा लिँदै जरिफको नामै लिएर सम्बोधन गर्दै भने, “के तपाईले यो ड्रोन चिन्नु भयो ? तपाईले चिन्नु पर्छ, किनकी यो तपाईकै हो । हाम्रो परीक्षा लिने काम नगर्नुस् ।’’

प्रतिक्रिया दिनुहोस