चितवनमा भोलीबाट कोरोना संक्रमण परीक्षण सुरु हुने

आइतबार, २३ चैत्र २०७६, १७ : ४७
चितवनमा भोलीबाट कोरोना संक्रमण परीक्षण सुरु हुने

चितवनमा । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि चितवनमा स्थापना भएको प्रयोगशालामा भोलीदेखि सञ्चालनमा आउने भएको छ । 

भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालन हुने प्रयोगशालाबाट दैनिक नौसय नमूना परीक्षण गर्न सकिन्छ ।

भरतपुर महानगरपालिकाको प्रत्यक्ष निर्देशन र सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञहरुको प्रत्यक्ष निगारानिमा सम्योजक डा. कृष्ण सागर शर्मा र प्रयोगशाला प्रमुख मदनराज पाण्डे सहितको टोलीले दुई दिनसम्म लगाएर कोभिड–१९ को नमुना परीक्षणका लागि उपकरणहरु जडान गरेको हो ।

प्रयोगशालाको जडान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिक र चितवनका प्राविधिकसहितको टोलीले गरेको थियो । ल्याब स्थापनाको सम्भाव्यता अध्ययन गर्न चितवन आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनाल सहितको टोलीले भरतपुरको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालन गर्न उपयुक्त देखेपछि यहाँ प्रयोगशाला सञ्चालनको काम भएको थियो ।

प्रयोगशालामा नमूना संकलन, प्रोसेसिङ्ग तथा परिक्षणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको मापदण्ड बमोजीमका अत्याधुनिक उपकरणहरुको प्रयोग गरी संचालन गरिएको छ ।

कृषि तथा वन विश्वविद्यालयमा रहेको आरटी पीसीआर मेसिन पनि ल्याएर जडान गरिएको छ । 

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मदन पाण्डे र चितवन मेडिकल कलेजका ब्रजेश झाको नेतृत्वले प्रयोगशाला सम्हाल्ने छ । यो ल्याब भरतपुर अस्पतालको स्वामित्वमा रहने छ ।

ल्याबलाई तीन सिफ्टमा चलाउने भन्दै २१ जना प्राविधिकहरुको पुल बनाउने काम भैरहेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट दुई, क्यान्सर अस्पतालबाट पाँच, भरतपुर अस्पतालबाट दुई, चितवन मेडिकल कलेजबाट पाँच र पुरानो मेडिकल कलेज भरतपुरबाट चार जना प्राविधिकहरु अहिले खटिएका छन् । केही नयाँ प्राविधिकहरुलाई समेत तालिम दिएर चौविसै घण्टा चलाउने योजना रहेको संयोजक डा. शर्माले बताए ।

भरतपुरमै प्रयोगशाला सञ्चालन भएपछि अब गाडीमार्फत् दिनहुँ नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता हट्ने छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले अहिलेको संक्रमणकालमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु गरिए पनि केही महिनापछि भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने जानकारी दिइन् । दाहालले प्रयोगशाला निर्माणपश्चात चितवनको नमुना परीक्षण रिपोर्ट छिटो आउने भएकाले उपचार थप सहज हुने बताइन् ।