लकडाउन : चितवन–नवलपुर आवतजावतमा थप कडाई

आइतबार, २३ चैत्र २०७६, १४ : ३०
लकडाउन : चितवन–नवलपुर आवतजावतमा थप कडाई

– प्रकाश सिग्देल 

चितवन । नेपालमा कोरोना संक्रमितको संख्या बढेंसँगै नेपाल सरकारले उच्च सावधानी अपनाउन आम नागरिकमा आग्रह गरेको छ । नेपालमा ९ जनामा संक्रमण देखिएपछि मन्त्रि परिषद्को बैठकले स्थानीय तह, एक जिल्लादेखि अर्को जिल्ला र एक प्रदेशदखि अर्को प्रदेश प्रवेशमा कडाई गर्ने निर्णय गरे अनुसार अहिले प्रहरी प्रशासनले लकडाउनलाई थप कडाई गरेका छन् । 

नवलपुरबाट चितवनमा प्रवेशमा कडाई गरिएको छ भने चितवनबाट नवलपुरतर्फ आउन र अन्य जिल्लामा जान समेत कडाई गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र नारायण शर्माले बताउनु भयो । 

त्यस्तै गरी नवलपुरमा पनि अत्यावश्यक कामबाहेक अन्य कामका लागि बाहिर निस्कन प्रतिबन्ध लगाइएको र अनुमति बिनै बाहिर हिडेको भेटिएकाहरुलाई काननीण् कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत टिकाराम वाग्लेले बताउनु भयो । 

लकडाउनका कारण सडकमा बेसाहारा बनेका र खाद्यान्न अभाव भएका गरिब परिवारका लागि भने केही संघ संस्थाहरुले अहिले राहतका कार्यक्रम सञ्चालन गरेका छन् । नेपाल युवा उद्यमी मञ्च चितवनले लकडाउनका कारण बिचल्लीमा परेका तथा पैदलयात्रीलाई निःशुल्क खाना वितरण गरेको छ । नारायणगढको पुलचोकमा मञ्चले खाना वितरण गरेको हो । विपन्न वर्गलाई लकडाउनको समयमा खानाको समस्या भएका कारण मञ्चले खाना वितरण गरेको अध्यक्ष दाताराम घिमिरेले बताए । 

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले कोरोनाका कारण सृजित अवस्थाले उद्योगी व्यवसायीलाई ठुलो असर गरेको र यसले नेपालको अर्थतन्त्रमा ठूलो असर गर्ने देखिएको बताउनु भयो । सरकारले व्यवसायीलाई राहत दिन  कम्तिमा पनि ६ महिनासम्म बैंक लोन तिर्ने तालिका फेरबदल गर्नु आवश्क रहेको उहाँको भनाई छ । घरभाडामा बस्ने व्यवसायीलाई २ महिनाको भाडा छुट दिनु पर्ने उहाँको माग छ ।