ठेकेदार भागेपछि हजारभन्दा बढी मजदुर अलपत्र

मंगलबार, १८ चैत्र २०७६, १४ : ३५
ठेकेदार भागेपछि हजारभन्दा बढी मजदुर अलपत्र

साङ्केतिक फोटो

गैँडाकोट । कोरोना त्रास र जोखिमले देश आक्रन्त भैरहेको बेला पूर्वी नवलपरासीको दुर्गम पहाडी क्षेत्रमा निर्माणाधीन कालीगण्डकी कोरीडरमा कार्यरत १ हजार १ सय मजदुर घर जान झोला कसेको बेला ठेकेदार बेपत्ता भएपछि उनीहरु अलपत्र परेका छन् ।

कोरोनाले देश लकडाउन भएको बेला काम रोकिएपछि त्यहाँ कार्यरत मजदुर ७ दिनदेखि अलपत्र परेका छन् । त्यस खण्डको बुलिङटार गाउँपालिका वडा नम्बर ६ को गौडामा कार्यरत सल्यानका मजदुर सन्तोष राउतले ११ सय मजदुर सोमबार घर जान भनेर झोला ठिक्क परेको अवस्थामा ठेकेदार बेपत्ता भएको जानकारी दिए । ठेकेदारले घर जान तैयारी गर्नु भनेर टेलिफोनमा आदेश गरेको र आफूहरु पोकापन्तुरा ठिक्क पारेर बाटो हेर्दा सोमबार बिहानैदेखि मोबाइल अफ गरेर ठेकेदार बेपत्ता भएको उनले जानकारी दिए । 

केहि पैसा पनि दिने र गाडी पठाएर घरघर लगिदिने भन्ने जानकारी आएको थियो । सोमबार बिहान सबै मजदुर घर जान तैयारी अबस्थामा थियौँ, ठेकेदार बेपत्ता भए उनले गुनासो गरे । उनले गाउँकै खिमबहादुर गिरी (पेटी ठेकेदार) ले लिएर आएको र २ महिनादेखि काम गर्दै आएको जानकारी दिए । गिरी त हामीसंगै छन तर उनलाई पनि ठेक्का दिने ठेकेदार बेपत्ता भएकोले उनी समेत आफूहरु अलपत्र परेको उनले सुनाए । सल्यान, प्यूठान, रोल्पा, रुकुम, जाजरकोट, भोजपुर, दैलेख, इलाम, संखुवासभाका मजदुर अलपत्र परेको उनले जानकारी दिए । 

खिमबहादुरलाई पेटि ठेक्का दिने आषिश कन्स्ट्रक्सनका संचालक (ठेकेदार) ऋषि गौली एकाएक बेपत्ता भएका हुन् । उनका लेखापाल, फिल्ड हेर्ने कर्मचारी सबै मोबाइल अफ गरेर सम्पर्क बाहिर रहेका कारण मजदुरहरुको बिचल्ली भएको छ । 

नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ठेकेदार भागेकाले खोजी गर्न प्रहरीलाई खटाएको जानकारी दिए ।  निमार्ण ब्यबसायी महासंघसंग सम्पर्क गरिरहँदा पनि पत्ता लगाउनै नसकेर हैरान परेको उनले सुनाए  । मजदुरहरुलाई ठेकेदारले दिन पर्ने भुक्तानीका लागि आफूहरुले बैंक खुल्ला गरिदिने उनले बताए । रकम भुक्तानी दिएर घरघर पठाउने जिम्मा ठेकेदार कम्पनिकै हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस