अमेरिकाले आर्थिक संकटसँग जुध्न हरेक करदातालाई १२ सय डलर सहितको प्याकेज

सफल खबर संवाददाता

विहीबार, १३ चैत्र २०७६, ११ : १०
अमेरिकाले आर्थिक संकटसँग जुध्न हरेक करदातालाई १२ सय डलर सहितको प्याकेज

एजेन्सी । कोरोना भाइरसको त्रास महामारीको रुप लिईरहदा विश्व नै अहिले आर्थिक संकटसंग जुधिरहेको छ ।  त्यस्तो आर्थिक संकटसँग जुध्न अहिले अमेरिकाले हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको प्याकेज सिनेटबाट पारित भएको छ। 

बुधबार मध्यरात  प्याकेजसहितको विधेयक पारित भएको हो। मतदानमा उपस्थित सबै ९६ सिनेटरहरुले विधेयकको पक्षमा मतदान गरेका थिए। विपक्षमा एकमत पनि नपरेकाले यो विधेयक सर्वसम्मतले पारित भएको छ।  शुक्रबार बिहान ९ बजे यो विधेयक मतदानका लागि हाउसमा लगिने  तय भएको छ। यदि हाउसबाट पनि पारित भएमा यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालीन राहत प्याकेज हुनेछ।

२ खर्ब अमेरिकी डलरको यो प्याकेजमा एक करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ। वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ। यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी वार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन्। ७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ।  

९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्ने विधेयकमा उल्लेख छ।  ८० हजार आम्दानी हुनेले ९५० प्राप्त गर्नेछन् भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्ने विधेयकमा उल्लेख छ।  विधेयकमा ५ सय अर्ब ऋण, लगानी लगायतमा छुट्याइएको छ भने एयरलाइन्स उद्योगका लागि ३२ अर्ब छुट्याइएको छ।  

करारमा काम गर्ने र स्वरोजगारहरु पनि संघीय सहायता प्राप्त गर्नका लागि योग्य हुने विधेयकमा उल्लेख छ। विद्यार्थीहरुको ऋणमा सेप्टेम्बर ३० सम्मका लागि कुनै जरिवाना लाग्ने छैन।कोरोना कहरले विश्वमै अहिल ठुलो आर्थिक संकट निम्त्याउने खतरा रहेको भन्दै विभिन्न देशहरुले व्यवसाय धराप हुन नदिन व्यवसायीहरुलाई विभिन्न छुटको प्याकेज ल्याउन थालेको छ । 

प्रतिक्रिया दिनुहोस