‘लकडाउन’ मा कन्टेनरमा लुकेर आएका ५२ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, १० : ३५

वीरगन्ज । सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर नेपालका विभिन्न शहरबाट मालवाहक लरीको खाली कन्टेनरमा लुकेर आएका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  गए राति लुकेर आएकाहरु काठमाडौंबाट  वीरगन्जस्थित घण्टाघरमा मंगलबार राति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनर भित्र रहेका  ५२ यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीले लरीका चालक शीवनारायण महरालाई पनि नियन्त्रणमा लिएको छ। काठमाडौंको सतुंगलमा रहेको टायल इन्जिम हार्डवेयरमा अल्मुनियम झारेर मंगलबार साँझ वीरगन्ज फर्किने क्रममा लरीमा रहेको खाली कन्टेनर भित्र काठमाडौं, भरतपुर, हेटौडाबाट ती यात्रुहरु चढेका थिए।ति व्यक्ति २ सय रुपैयाँ भाडा दिने सर्तमा चालकले आफुहरुलाई लरीमा चढाएको यात्रूहरुले बताएका छन्। यात्रूहरु बारा, पर्सा र रौतहटका बासिन्दा हुन्।

उनीहरु व्यापार व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएका थिए।  मंगलबारदेखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि लरीको खाली कन्टेनर भित्र बसेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।  

लकडाउन भएपछि काम गर्ने पसल पनि बन्द भयो, काठमाडौंबाट लरीमा चढेका एक यात्रुले भने ,‘ साहुले पनि घर जाउ भनेपछि खाली कन्टेनरमा चढेका थियौँ।  लरी चालक महराले पनि आफुले यात्रुलाई चढाउन नमानेको भएपनि बाटो नै छेकेर गाडी घेरेपछि बाध्य भएर चढाउनु परेको बताए।

प्रहरीले कन्टेनर भित्र भेटिएका ५२ यात्रु र चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा बुधबार बिहान पठाइएको बताए। लुकेर आएका सबै यात्रुहरुलाइर्ए प्रहरीले आफ्नो निगरानीमा राखेको छ । 

 

प्रतिक्रिया दिनुहोस