दाजुको मिर्गौला दानले बाँचे भरतपुरका किसन मगर

सफल खबर संवाददाता

सोमबार, ०३ चैत्र २०७६, १७ : ०७
दाजुको मिर्गौला दानले बाँचे भरतपुरका किसन मगर

चितवन । भरतपुर–२, चितवनका एक युवकको हकमा दाजु पनि आमाको रुपमा उदाएका छन् । पहिलोपटक आमाबाट जीवन पाएका किसन मगरले दोस्रोपटक दाजुबाट नयाँ जीवन पाए । दुवै मिर्गौला फेल भएर भौंतारिइरहेका क्षेत्रपुरका किसनलाई उनका दाजु चन्द्रबहादुर रुम्जालीले मिर्गौला दिएका हुन् । 

चार वर्षअघि किसनको मिर्गौलामा समस्या पत्ता लागेको थियो । बिग्रेको मिर्गौला जोगाउन गरिएका प्रयासहरु असफल भएपछि उनी जीवन र मरणको दोसाँधमा पुगिसकेका थिए । यही बेला दाजु चन्द्रबहादुर भाइलाई मृत्युको मुखबाट फिर्ता ल्याउन अग्रसर भए । भाग्यले पनि साथ दिएकै मान्नुपर्छ– चन्द्रबहादुरको मिर्गौला किसनलाई ‘फिट’ भयो । 

प्रचलित कानुन अनुसार नातागोता बाहेकका मान्छेले चाहेर पनि मिर्गौला दान गर्न नपाउने अवस्थामा दाजुको मिर्गौला ‘फिट’ भएपछि किसनमा बाँच्ने आस पलायो । तर राजधानीको अस्पतालमा तोकिएको मितिमा प्रत्यारोपण हुन नसकेपछि उनी फेरि निराश भए ।

‘त्यसपछि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएँ । त्यहाँ पनि तीन महिना त्यत्तिकै बित्यो,’ किसन भन्छन्, ‘स्वदेशमा केही सीप नलाग्ने देखेपछि भारतको एम्स अस्पतालमा प्रत्यारोपण गर्ने तयारी सुरु भयो ।’ भारत जानुअघि डायलासिस गर्ने सिलसिलामा चितवनको पुरानो मेडिकल कलेज पुगेका किसनले त्यहीँ मिर्गौला प्रत्यारोपण हुने कुरा थाहा पाएको उनले सुनाए । 

पुरानो मेडिकल कलेजका चिकित्सक र विशेषज्ञसँगको परामर्शपछि त्यहीँ नै प्रत्यारोपण गराएको उनको भनाइ छ । ‘सबैभन्दा पहिला पुरानो मेडिकल कलेजका डा. प्रविण जोशीलाई भेटेँ । उहाँको सल्लाहमा प्रत्यारोपण विशेषज्ञ डा. राकेश बर्माको बायोग्राफी हेरेपछि उहाँबाटै प्रत्यारोपण गराउने निष्कर्षमा पुग्यौं,’ किसनले सुनाए । 

दाजुको मिर्गौला सफल प्रत्यारोपणपछि किसनलाई दिने मान्छे परिवारमा भए मिर्गौला प्रत्यारोपण ठूलो होइन रहेछ भन्ने लागेको छ । ‘पहिले त बाँच्ने आसै मारिसकेको थिएँ, अहिले भने दिने मान्छे घरमा छ भने मिर्गौला प्रत्यारोपण ठूलो समस्या होइन रहेछ भन्ने लाग्यो,’ उनले भने ।

उक्त मेडिकल कलेजका प्राध्यापक डा. राकेश बर्माको नेतृत्वमा १० जनाको टोलीले किसनको मिर्गौला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपणपछि त्यहाँका डाक्टर र नर्सको राम्रो हेरचाहका कारण आफू चाँडै ठीक भएको किसनले सुनाए । ‘करिब १५ दिन अस्पताल बस्दा डाक्टर र नर्सले निकै राम्रोसँग उपचार गर्नुभयो, छिनछिनमा सोध्ने गर्नुभयो,’ उनले भने ।

भाइलाई मिर्गौला दान गरेका चन्द्रबहादुर अहिले आफू र भाइ दुवैजना तन्दुरुस्त रहेको बताउँछन् । ‘अहिले म पनि राम्रो छु, र भाइ पनि राम्रो छ,’ चन्द्रबहादुरले भने ।

कलेजका प्राध्यापक डा बर्मा मिर्गौला प्रत्यारोपणमा ठूलो टिम सहभागी हुने बताउँछन् । किसनको प्रत्यारोपणमा पनि १० जनाको टिम सहभागी थियो । उक्त अस्पतालले हालसम्म चारवटा सफल मिर्गौला प्रत्यारोपण गरेको प्राडा बर्माले जानकारी दिए । अंग प्रत्यारोपणमा ४० वर्षका अनुभव प्राडा बर्माले राजधानीको वीर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरी ६५० भन्दा बढी प्रत्यारोपण गरिसकेका छन् । प्रविधि र मानवीय स्रोतका हिसाबले मिर्गौला प्रत्यारोपणमा नेपाल विदेशभन्दा कम नभएको प्राडा बर्माको दाबी छ । ‘सेवाग्राहीले विश्वास गरे पुग्छ,’ हामी सक्षम छौं ।

प्रतिक्रिया दिनुहोस