अवैध रुपमा लुकाई राखेको ६ लाख सर्जिकल मास्क बरामद

सोमबार, ०३ चैत्र २०७६, ११ : ४५
अवैध रुपमा लुकाई राखेको ६ लाख सर्जिकल मास्क बरामद

काठमाडौँ । काठमाडौँको सतुंगलबाट अवैद्य रुपमा लुकाइराखेको छ लाख सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ ।गएको शनिबारयता भएका अनुगमका क्रममा झण्डै ८ लाख ४० हजार थान  मास्क विभिन्न स्थानबाट प्रहरीले बरामद गरिसकेको छ । 

आज सोमबारमात्र काठमाडौंको सतुंगलबाट हालसम्मकै धेरै ६ लाख थान सर्जिकल मास्क बरामद भएको प्रहरीले जनाएको छ ।  चन्द्रागिरि नगरपालिका–१० स्थित गोदाममा १२० वटा कार्टुनमा लुकाइ छिपाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो । 

रोहित श्रेष्ठको घरमा रहेको आरडिजी इन्टरनेशनल कम्पनीको सो गोदामलाई प्रहरीले शंका लागि आइतबार राती नै सिल गरेको थियो । सोमबार सरकारी प्रतिनिधि सहितको प्रहरी टोलीले गोदाम खोल्दा यति धेरै परिमाणमा कालो बजारी गर्न लुकाइराखेको मास्क फेला पारेको हो ।

यसअघि आइतवार कपनबाट १ लाख ६८ हजार र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । मुलुकमा कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेका बेला मास्कको कालोबजारी बढेपछि प्रहरीले अपरेशन जारी राखेको छ ।  कालो बजारी गर्ने, बढि मूल्य लिने र मास्क सहितका अत्यावश्यक सामग्री लुकाउनेको खोजी खोजी पक्राउ गरि सामग्री बरामद गर्ने कार्य जारी राखेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नावय उपरीक्षक होविन्द्र बोगटी बताउँछन् ।

पछिल्लो समयमा काठमाडौँमा मास्कमा कालोबजारी गर्ने गिरोह सक्रिय हुन थालेकालेपनि प्रहरी अनुगमन तिब्र पारिएको छ । प्रहरीले खाद्यान्न औषधीजन्य लगायतका चिजवस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र कालोबजारी गर्ने गरेको सूचना भए प्रहरी कार्यालयमा जानकारी गराउन भनेको छ । मास्कको कालोबजारी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस