विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या धनुषामा ८ पुग्यो, विक्री वितरण गर्ने सात पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, ११ : ५१
विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या धनुषामा ८ पुग्यो, विक्री वितरण गर्ने सात पक्राउ

जनकपुरधाम । धनुषाको क्षीरेश्वनारथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा विशाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

होली पर्वको अवसरमा पारेर मदिरा सेवन गरेका मृतकहरु एकै गाँउका रहेका छन् । शनिबार आज बिहान मात्रै उपचारको क्रममा  मोसराम यादव र सत्रोहन मण्डलको मृत्यु भएको हो ।

यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ रमदैयाकै ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय राम विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, वडा नम्बर १ का ३६ वर्षीय रामनारायण महरा, ३० वर्षीय राजु महरा र २५ वर्षीय इन्द्रजीत महराको मृत्यु भएको थियो । मदिरा सेवनले एक गाँउका त्यति धेरै मानिसको मृत्यु भएसँगै गाँउ नै शोकमा डुबेको छ । मृतक परिवारमा रुवाबासी चलेको छ भने आफन्त तथा शोक ब्यक्त गर्न आउनेको घुँइचो लागेको छ । 

विषाक्त मदिरा सेवन गर्ने ७ जना पक्राउ

यता विषाक्त मदिरा उत्पादन गरी बेच्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विषाक्त मदिरा उत्पादन गर्ने महोतरी भंगहा नगरपालिका–३ का ४७ वर्षीय जगतनारायण मण्डल, धनुषा लक्ष्मिनिया गाउँपालिका–६ बगेवाका २४ वर्षीय नवीन यादव र क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका ४५ वर्षीया छठियादेवी मण्डललाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

भंगहामा उत्पादन भएको मदिरा नवीनले रमदैयामा ल्याएर छठियालाई बेच्न दिएको कार्कीले बताए । विषाक्त मदिरा उत्पादन र बिक्रीवितरणबारे सोधपुछका लागि रमानन्द साह, धुरण यादव, जगत कुमार यादव र सितलदेवी यादवलाई समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवैध घरेलु मदिरा विक्री वितरण रोक्न सक्रिय भए पनि व्यापारीहरु लुकिछिपी बाहिरबाट ल्याएर विक्री वितरण गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस