फ्रान्समा सयभन्दा बढीलाई एकै ठाउँमा भेलामा प्रतिबन्ध

शुक्रबार, ३० फागुन २०७६, २२ : ०५
फ्रान्समा सयभन्दा बढीलाई एकै ठाउँमा भेलामा प्रतिबन्ध

पेरिस । फ्रान्समा एक सय जनाभन्दा बढी व्यक्तिलाई एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको छ । बढीमा एक सय जनासम्म मात्रै जम्मा हुन पाइने र त्योभन्दा बढी जम्मा हुन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरिएको छ ।

प्रधानमन्त्री एजेर्ड फिलिपले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको जानकारी भएको हो । रोमानियाका प्रधानमन्त्री लुडोभिक अर्वान आफ्नै निवासमा एक्लै छुट्टै बस्नुभएको छ । उहाँले एक्लै बसेर आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको पनि शुक्रबार बताउनुभएको छ ।

रोमानियामा शुक्रबार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण भएको अधिकारीहरुले पुष्टि गरेका छन् । बेलायतका युवराज चाल्र्सले तीन देशको भ्रमण स्थगित गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको खतरा बढेकाले उहाँले भ्रमण स्थगित गर्नुभएको अधिकारीले जनाएका छन् । उहाँले बोस्निया, साइप्रस र जार्डनको भ्रमण स्थगित गर्नुभएको हो ।

बेलायती महारानी एलिजावेथ द्वितीयकी जेष्ठ पुत्र चाल्र्सले आगामी बुधबारदेखि ती देशको भ्रमण गर्ने तालिका थियो ।श्रीमतीसहितको उहाँको सो भ्रमण आठदिने हुने तय भएको थियो । बेलायतमा कोरोनाका कारण शुक्रबारसम्म १० जनाको मृत्यु भएको छ भने ६००भन्दा बढी सङ्क्रमित भएका छन्  ।

उता स्पेनमा अहिलेसम्म चार हजार २०९ जना सङ्क्रमित भएका छन् । यसअघि बिहीबारसम्म तीन हजार चार जना मात्रै सङ्क्रमित भएका थिए । बिहीबारसम्म मृत्यु हुनेको सङ्ख्या भने ८४ थियो । युक्रेनमा भने शुक्रबार कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको छ ।

यता भारतमा भने सङ्क्रमितको सङ्ख्या बढेर ८१ पुगेको छ । सङ्क्रमितमध्ये ६४ जना भारतीय नागरिक र बाँकी विदेशी रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतकै विहार प्रदेश सरकारले विद्यालय तथा कलेज बन्दको घोषणा गरेको छ । यही मार्च ३१ तारिखसम्मका लागि शैक्षिक संस्था बन्द गरिएको अधिकारीले जनाएका छन् । (एएफपी)