सामुदायिक विद्यालयमा युवापुस्ताका शिक्षक आवश्यक : मन्त्री पोखरेल

रासस

शनिबार, १७ फागुन २०७६, २० : ३७
सामुदायिक विद्यालयमा युवापुस्ताका शिक्षक आवश्यक : मन्त्री पोखरेल

फाईल फोटो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको सवलीकरणको लागि ऊर्जावान, दक्ष र प्रविधिको ज्ञान भएका युवापुस्ताका शिक्षक आवश्यक रहेको बताउनुभएको छ । 

समुदायिक विद्यालय सवलीकरणका लागि नगर शिक्षा सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “मसँग शिक्षक साथीहरु शिक्षकको कार्यकाल ६० बाट बढाएर ६३ बनाउनुपु¥यो भन्नुहुन्छ, तर म सकेसम्म चाँडो उहाँहरुलाई बिदा दिएर प्रविधिको पूर्णज्ञान भएका नयाँ, ऊर्जावान, दक्ष शिक्षक भित्र्याउन चाहेको छु ।”

सामुदायिक शिक्षा सवलीकरणका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वयको खाँचो रहेको उल्लेख गर्नुहुँदै उहाँले सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षकले मात्र नसक्ने भएकाले शिक्षक, अभिभावक, विद्यार्थी र सरकोकारवाला निकायको समन्वय जरुरी रहेको बताउनुभयो ।

सरकारले २०७६–८५ लाई सामुदायिक शिक्षा सवलीकरण दशक घोषणा गरेको जानकारी दिनुहुँदै मन्त्री पोखरेलले अबको दशक शिक्षामा पहुँच मात्र होइन, गुणस्तरीय शिक्षाको दशक भएको बताउनुभयो । कार्यक्रममा गोलबजार नगरपालिकाको शिक्षाको अवस्था र त्यसमा के–के सुधार गर्न सकिन्छ भन्ने विषयमा शिक्षाविद् अभिषेक घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभयो । सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य रामकुमार यादव, जगत् यादव, पूर्वमन्त्री विश्वनाथ साहले सम्मेलनले गोलबजार नगर क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी मन्त्री पोखरेलले आजै गोलबजार नगरपालिकास्थित सरस्वती माविको (प्राविधिक शिक्षालय) तेतरिया जमदहमा दुईतले आठकोठे भवनको उद्घाटनसमेत गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस