बालिका काण्डमा मुख्यमन्त्री राईले भने– फसाउन अनेक षडयन्त्र भयो

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०७६, १५ : ३९
बालिका काण्डमा मुख्यमन्त्री राईले भने– फसाउन अनेक षडयन्त्र भयो

सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्‍याउने गरी कुनै गल्ती नगरेको बताएका छन् । राईलाई आफ्नो पत्न्ी दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफूलाई फसाउन अनेक षड्यन्त्र भइरहेको बताए । 

उनले मुद्दा दिने महिलालाई आफूले नभेटेको दावी गर्दै उनले आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलालाई प्रयोग गरिरहेको दावी गरे । शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्दै उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए । 

दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै  ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् ।
 राईले मन्त्री भएदेखि नै आफूविरुद्ध षडयन्त्र भएको बताएका छन् । 

उनले भने, ‘हिजो मात्रै कुन अदालतमा मुद्दा दर्ता भयो भन्ने कुरा सामाजिक सञ्जालमा आइरहेको छ । २०७२ सालदेखि मौसम अनुसार केही अनलाइनमा मेरो बारेमा आइरहेको यहाँहरूलाई विदितै छ, जुन पात्रको कुरा छ ती पात्रसँग मेरो बोलचाल, चिनजान केही छैन ।’

तत्कालीन एमाले पार्टीमा आवद्ध रहेर काम गरेकी भनिएकी खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौनजन्य हिंसा गरेको लगायत आरोप लगाउँदै पति नाता कायम गरी अंशबण्डा हुनुपर्ने माग गरेकी थिइन् । यस विषयमा मुख्यमन्त्री राईले सार्वजनिक स्थलमै खण्डन गर्दै दूधको दूध पानीको पानी हुने बताए । 

उनले भने ‘म मिडियाबाजी, प्रचारबाजी गरेर आएको होइन । म चुनौती दिन चाहन्छु सबैलाई, आर्थिक र नैतिक मामलामा कसैले पनि खोट लाउन सक्ने मैले बनाएको छैन । यहाँहरूले कुनै भ्रम नरहोस् कि यो कहीँ चुकेको थियो कि गल्ती गरेको थियो कि ?

मुख्यमन्त्री राईले मिडियामाथि समेत आक्रोश पोख्दै आफूविरुद्धको षड्यन्त्रमा मिडिया पनि दुरुपयोग भएको बताए  उनले भने, ‘चुनावका बेला ममाथि १० वटा गोली र एउटा बम प्रहार गरियो । त्यो तर्साउनको लागि होइन, ठाउँको ठाउँ सिध्याउनको लागि हो । वास्तविकता यो हो, तथ्य यो हो । कुनै भ्रम नरहोस् ।’

प्रतिक्रिया दिनुहोस