महिला स्वयमसेविकाको पीडा : सात महिनादेखि खाली हात, ओठ तालु सुकिसके

प्रकाश सिग्देल

शनिबार, १७ फागुन २०७६, १२ : १९
महिला स्वयमसेविकाको पीडा : सात महिनादेखि खाली हात, ओठ तालु सुकिसके

चितवन । ‘हामीले काम गरेको ४६ सालबाट हो अहिले कपाल फुलेर पनि बुढो भईयो, अरुथोक जागिर खाएको भए आजसम्म पेनसन पाकेर निस्किन्थ्यौं होला, आजसम्म केही सुविधा छैन् । दुखै छ हामीलाई, गामघर हिड्नु पर्छ, खाई नखाईकन । हिजो बेलुका खाएको थिए अहिलेसम्म खाना खान पाछैन यी ओठ तालु सुकि सक्यो ।’ इच्छाकामना गाउँँपालिकामा महिला स्वयम सेविकाको रुपमा कार्यरत शावित्री शिल्वालले महिला स्वयम सेविकाको रुपमा काम गर्दाको आफ्नो पीडा यसरी सुनाउन भयो । 

‘गाउँँलेले कति पैसा खाईछ, पैसा नपाई कन किन हिँड्थी भनेर भन्छन्, त्यसले झन् मन दुख्ने गरेको छ । गाउँँमा राम्रा कुरा सिकाउँदा पनि सिक्दैनन् ।’ उहाँले सुनाउनु भयो ।  ‘जीवन भरी काम ग¥यो न आफ्नो आर्थिक अवस्था सवल बन्न सक्यो न समाजले राम्रो ज्ञान लिन सक्यो  महिला स्वयम सेविकाको पीडा सुनाई नसक्नु छ ।’  यस्तै पीडाको अनुभव सुनाउनु हुन्छ हाल इच्छाकामना गाउँपालिका साविक दारेचोक गाविस ९ की महिला स्वयम सेविका फुलमती प्रजा । ४६ सालदेखि आफू यही अवस्थामा काम गरेको र एउटा घरदेखी अर्को घर पुग्न घण्टौ हिड्नु पर्ने बाध्यतामा आफूहरु रहेको उहाँ बताउनु हुन्छ । हरेक महिनाको २७/२८ गते गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य केन्द्रमा रिपोर्ट बुझाउन जानु पर्ने र आफूहरुलाई आतेजाते भाडा समेत नहुँदा घण्टौ भोकै पौदल यात्रा गर्नु पर्ने बाध्यतामा आफूहरु पर्ने गरेको उहाँको भनाइ छ ।  गाउँपालिकाले महिला स्वयम सेविकालाई आतेजाते भत्ता भनेर मासिक १५ सय दिने भनेर आफूहरुलाई जानकारी गराएको भएपनि ७ महिनादेखि सो रकम समेत नपाउँदा काम गर्न निकै कठिन भएको उहाँ बताउनु हुन्छ ।

इच्छाकामना गाउँपालिका वडा नम्वर तीन की लालमति खनालको पनि दुखेसो उस्तै छ ।  गाउँमा सचेतना प्रदान गर्न जाँदा पनि गाउँँलेहरुले यिनीहरु त धेरै भत्ता खाएर भत्ता पचाउन गाउँँमा आका भनेर भन्ने गरेको तर आफूहरु भने सधै श्रीमान् छोराछोरीसँग पैसा मागेर गाउँँ गाउँँमा जार्नुपर्ने बाध्यतामा रहेको दुखेसो गर्नुभयो ।

त्यस्तै फुलमती गुरुङ्गले महिला स्वयम सेविकालाई काम गर्न धेरै गाह्रो रहेको बताउनु भयो । दिनमा कम्तिमा पनि ४ देखी ५ घण्टा हिडेर गाउँँ जानुपर्ने गाउँँमा पोषण लगायत महिला बालबालिका सबैलाई चेतना प्रवाह, पोलियो थोपा, भिटामिन खुवाउनेदेखि अन्य धेरै काममा आफूहरु लाग्नु पर्ने उहाँको भनाइ छ । आफ्नो वडामा परिवार नियोजनको ज्ञान प्रदान गर्न सबै भन्दा कठिन अवस्था रहेको उहाँको अनुभव छ । कहिले काहीं गाउँपालिकामा परिवार नियोजनको शिविर चल्ने र शिविरमा पुरुषहरुलाई फकाई फुलाइ गरी ल्याए पनि शिविरबाटै भाग्ने गरेको उहाँ बताउनु हुन्छ ।

महिला स्वयम सेविका लोकमाया गुरुङ्गले सुत्केरी, गर्भवती सानासाना बालबालिका सबैको रेखदेख गर्ने काममा आफूहरु लाग्ने गरेको तर आफूहरुको हक अधिकारका बारेमा कसैले पनि नबोलीदिँदा दुःख लाग्ने गरेको बताउनु भयो । गाउँँलेहरुले नेतिनी बनेर पैसा पचाउन आएकी भन्छन् । अरुले हाम्रा समस्या बुझदैनन् त्यसै माथि महिनौसम्म पनि आतेजाते भाडा रकम समेत नपाउँदा निकै दुःख हुने गरेको गुरुङ्ग बताउनु हुन्छ । इच्छाकामना गाउँपालिकाको सबै वडामा गरी ३७ जना महिला स्वयम सेविका रहेका छन् । सबैको अवस्था निकै दयनीय रहेको उनीहरु बताउँछन् ।

इच्छाकामना गाउँपालिका प्रमुख गिता गुरुङ्गले जनप्रतिनिधि आउनुभन्दा पहिला उनीहरुको अवस्था झन दयनीय रहेको र आफूहरु आउना साथ अवस्था सुधारमा काम गरेको बताउनु भयो । निनर्वाचित भएर आउनासाथ उनीहरुलाई छाता, झोला, लाइट वितरण गरेको र मासिक १५ सय दिने व्यवस्था मिलाएको उहाँको भनाइ छ । महिला स्वयम सेविकाहरुको मेहनत र उहाँहरुको दुःख देखेर गाउँपालिकाले चालु आर्थिक वर्षबाट ५ सय थप गरी मासिक २ हजार भत्ता दिने निर्णय गरेको उहाँले बताउनु भयो । त्यस्तै उहाँहरुका लागि केही आतेजाते भाडाको पनि व्यवस्था मिलाइएको अध्यक्ष गुरुङ्ग बताउनु हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस