मुख्यमन्त्री राईलाई पति दावी गर्दै अदालतमा मुद्दा दायर

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०७६, १६ : १८
मुख्यमन्त्री राईलाई पति दावी गर्दै अदालतमा मुद्दा दायर

काठमाडौं– प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् ।  दोलखाकी बालिका खड्का राईले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

‘मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ अनुसार विपक्षी पति र म बीच एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरी विवाह भएको हुँदा ऐ। संहिताको दफा २०५, २०६, २०९, २११, २१२, २१३ समेतका आधारमा प्रस्तुत फिराद गर्न आएकी छु,’ बालिकाले दायर गरेको मुद्दामा भनिएको छ,‘अंशबण्डा गर्ने सम्पत्तिको फाँटवारी देखाई फिराद गर्नु पर्नेमा विपक्षी जिम्माको सम्पत्ति मलाई हाल जानकारी नभएको र मसँग बण्डा गर्ने कुनै पनि सम्पत्ति नभएको हुँदा संहिताको दफा २२१, २२२, २२३, २२४, २२५ समेतका आधारमा बण्डा गर्ने सम्पत्तिको तायदाती फाँटवारी माग गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी जम्मा सम्पत्तिलाई २ भाग गरी १ भाग अंश दिलाइ चलन चलाई पाऊँ।’

खड्काले राईले आफूसँग विवाह गरेको र पछि घरेलु हिंसा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरेकी छन् । उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस