डाेजरले बाटाे खनेपछि युवा पुस्ता राेजीराेटीका लागि भारत

पत्रपत्रिकाबाट

मंगलबार, १३ फागुन २०७६, ०७ : ४३
डाेजरले बाटाे खनेपछि युवा पुस्ता राेजीराेटीका लागि भारत

डोटी । गाउँमा सडक खन्न डोजर भित्रिएपछि श्रमिकहरु विस्थापित हुन थालेका छन् । जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेशिन प्रयोग गरेर सडक निर्माण गरिरहेकाले श्रमिकहरु काम नपाउँदा विस्थापित हुँदै गएको स्थानीयवासीको आरोप छ ।

गाउँमा हुने विकास निर्माणमा मेशिन मात्रै प्रयोग हुन थालेपछि डोटीका ग्रामीण क्षेत्रका स्थानीयवासी रोजगारीका लागि छिमेकी मुलुक भारत जान बाध्य भएको जोरायल गाउँपालिका ६ निरौलका स्थानीयवासी चित्रराज भट्टले बताए । ‘सडक निर्माण हुने ठाउँमा मेशिन प्रयोग हुँदैछन्, मजदुरले काम पाउँदैनन् काम नपाएपछि कमाउन भारत पस्नै प-यो ।’

यहाँका स्थानीयवासीलाई रोजगारीका लागि भारत जानुको विकल्प नभएको उनको भनाई छ । पुरुष जति रोजगारीको खोजीमा भारत गएपछि गाउँमा महिला, वृद्धवृद्धा तथा बालबालिका मात्रै रहेका वोगटान फुड्सिल गाउँपालिका–१ का कमलसिंह बम बताउछन् ।

युवाहरू भारत पसे

‘सडक निर्माणजस्ता ठूला योजनामा मेशिन प्रयोग हुन्छ, पुरुष जति काम खोज्न भारत जानछन्, गाउँमा युवाविहीन अवस्था छ ।’ बमले भने । एक करोड रुपैंयासम्मका योजना निर्माण गर्दा निर्माण कार्य उपभोक्ता समितिमार्फत गर्न पाउने प्रावधान भए पनि यहाँका ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा मेशिन हाबी भएका छन् ।

उपभोक्ता समितिले पनि डोजरकै प्रयोग गरेको पाइएको जोरायल गाउँपालिका–५ का दीर्घबहादुर बोगटीले बताए । उनी भन्छन् ‘उपभोक्ता समितिले पनि डोजर नै प्रयोग गर्न थालेका छन्, मजदुरले काम नपाउँदा उनीहरु विस्थापित भएका छन् ।’ मेशिनको प्रयोग हटाएर स्थानीय मजदुरलाई नै काम दिएमा यहाँका युवा तथा मजदुर विस्थापित नहुने अर्का स्थानीयवासी खेमबहादुर विष्टको भनाइ छ ।

गाउँमा काम नपाउँदा यहाँका स्थानीयवासी कामका लागि बर्सेनि भारतका विभिन्न शहर पुग्ने गरेका छन् । गौरीफण्टा, पञ्जाब, बरेली, लुधियाना, बैङलोर, दिल्ली, उत्तराखण्ड, कुमाउ, गडवाललगायतका स्थानमा जान थालेका छन् । जिल्लामा रहेका स्थानीय तहमा सडक खन्नकै लागि भए पनि डोजर किन्ने होडबाजी नै चलेको केआईसिंह गाउँपालिका–३ का शेरबहादुर ऐरले जानकारी दिए । ‘गाउँगाउँमा सडक पु-याउने बाचा पूरा गर्न जनप्रतिधिनि नै डोजर किन्नमै व्यस्त छन्, डोजरले काम चलाउन थालेपछि कहाँबाट मजदुरले काम पाउनु नी ।’ राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस