कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका चिकित्सकको मृत्यु

एजेन्सी

शुक्रबार, २४ माघ २०७६, १२ : १९
कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका चिकित्सकको मृत्यु

(एजेन्सी) ।  चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका एक चिनियाँ चिकित्सकका संक्रमणकै कारण मृत्यु भएको छ । उनको मृत्युको खबर उनको उपचार गरिरहेको अस्पतालले दिएको छ । वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत लि वेन्लियाङलाई त्यहीँ संक्रमण भएको थियो ।

ती ३४ वर्षीय चिकित्सकले आफ्ना सहकर्मीहरूलाई डिसेम्बर ३० मा भाइरस संक्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए । तर प्रहरीले उनलाई “अनर्गल टिप्पणी नगर्न“ चेतावनी दिएको थियो । नयाँ वर्षको छेकोमा वुहान सहरमा अधिकारीहरूले कोरोनाभाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए ।

उनको मृत्युबारे धेरै अफवाह फैलिएको छ । तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रवार बिहान तीन बजेति भएको उल्लेख गरेको छ । चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१ हजार भन्दा बढीलाई संक्रमण भएको छ । बिहीवार मात्रै ७३ जनाको मृत्यु भयो।

उक्त भाइरसले श्वासप्रश्वासमा समस्या उत्पन्न गराउँछ । संक्रमण व्यक्तिलाई ज्वरो आउँछ अनि सुक्खा खोकी लाग्छ । अधिकांश व्यक्ति संक्रमणपछि सामान्य रुघाखोकीमा जस्तै निको हुन्छन ।

प्रतिक्रिया दिनुहोस